डिजिटल मिडियासँगै समाचार पत्रको पनि संरक्षण गर्नु सबैको जिम्मेवारी: मुख्यमन्त्री तामाङ

n6213351311720548408148cb2a656afd013dd5e4aa0ee9a68793a10f074536f6bebad565b75aa9cb52e667

गान्तोक: सिलगढीबाट प्रकाशित हुने दैनिक नेपाली समाचार पत्र हिमालय दर्पणको २३औं स्थापना दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोर्खा गौरव सम्मानद्वारा सम्मानित भएका छन्।

यसका लागि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सिक्किमेली जनताको तर्फबाट मुख्यमन्त्रीप्रति ससम्मान बधाई अर्पण गरेको छ। एसकेएम पार्टीले हिमालय दर्पण समाचार पत्रसँग संलग्न सदस्यहरूप्रति बधाई व्यक्त गर्दै सिक्किम संस्करण प्रारम्भ भएकोमा बधाई तथा शुभकामना दिएको छ।

आजको कार्यक्रममा मुख्यमन्त्रीलाई विशिष्ट अतिथि श्री श्री १०८ महाराज मोहनप्रियाचार्य तथा हिमालय दर्पणका प्रकाशक एवम् प्रमुख कार्यकारी सन्दीप चौधरी र कुलदीप चौधरीको बाहुलीद्वारा अंगवस्त्र र अभिनन्दन पत्र प्रदान गरी सम्मान जनाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले डिजिटल मिडियासँगै समाचार पत्रको पनि संरक्षण गर्नु सबैको जिम्मेवारी रहेको र यसका लागि सबैले सहयोग गर्नुपर्ने सुझाउ दिए। हिमालय दर्पण समाचार पत्रले २३ वर्षको अवधिमा धेरै उत्तर चढाउ आए तापनि यसले सम्पूर्ण नेपाली भाषीहरूको भावनालाई ध्यानमा राख्दै निरन्तरता दिएको कुरा बताए।

मुख्यमन्त्रीले पत्रिका पढ्ने बानीलाई यथावत राखेको खण्डमा पत्रिका बाँच्ने विचार व्यक्त गरे। यस कार्यक्रमलाई कसैले पनि राजनीतिकरण नगर्न र एक सामाजिक कार्यको दृष्टिले हेर्नुपर्ने उनले आग्रह गरे। एसकेएम पार्टी सरकारमा आएपछि पत्रकारहरूलाई खुल्ला रूपमा समाचार लेख्ने वातावरण सृजना गरेको मुख्यमन्त्रीले बताए। उनले आज प्राप्त गरेको गोर्खा गौरव सम्मानलाई सिक्किमेली जनताप्रति समर्पित गर्न चाहन्छु भने।

कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङका सांसद राजु बिष्टले गोर्खा गौरव सम्मानद्वारा सम्मानित भएकोमा मुख्यमन्त्री तामाङप्रति हार्दिक बधाई व्यक्त गर्दै हिमालय दर्पण सिक्किम संस्करणको प्रारम्भ भएकामा बधाई – शुभकामना दिए। मुख्यमन्त्रीको कुशल मार्गदर्शनमा सिक्किमको उत्तरोत्तर प्रगति भएर जाने कुरामा विश्वास व्यक्त गर्दै जनताले नेतृत्वमाथि विश्वास गरेर उनलाई पुनः एकपल्ट सरकार सञ्चालन गर्ने अवसर प्रदान गरेको उनले बताए। उनले मुख्यमन्त्रीले डेढ करोड नेपाली गोर्खा भाषीहरूको आवाज बनेर काम गरिरहेको सांसद बिष्टले आफ्नो सम्बोधनमा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement