नयाँ दिल्ली: भारतका विश्व कप विजेता कप्तान कपिल देव ब्लड क्यान्सरसँग जुझिरहेका अनि उपचारको खर्च पूरा गर्नको निम्ति संघर्ष गरिरहेका भारतका पूर्व ओपनिंग ब्याटर तथा प्रशिक्षक अंशुमान गायकवाड़को स्थिति देखेर चिन्तित छन्। कपिलले भने, गायकवाड़का समकालीनले उनको सहायताको निम्ति के के गरिरहेका छन् भन्ने जान्न खोज्दा हामीलाई स्थिति दुःखद लाग्यो। मलाई धेरै दुःख लागेको छ कारण मैले अंशुसँग खेलेको छु अनि उनको यस्तो स्थिति म सहन गर्न सक्दिन। बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले उनको हेरचाह गर्ने मलाई विश्वास छ। कपिल, मोहिन्दर अमरनाथ, सुनिल गावस्कर, सन्दीप पाटिल, दिलीप भेंगसरकर, मदन लाल, रवि शास्त्री र कीर्ति आजाद बिमार गायकवाड़लाई उनको कठिन समयमा साथ दिनको निम्ति सक्रिय रूपमा साथीहरू र कर्पोरेट्ससँग सम्पर्क गरिरहेका छन्। भावुक कपिलले भने, हामी कसैलाई पनि वाध्य गर्न सक्दैनौ। अंशुको निम्ति कुनै पनि सहायता तपाईंको मनबाट आएको हुनु पर्छ। उनले देशको निम्ति आफ्नो समयमा भयावह पेस बलरहरू समक्ष उभिएर अनुहार र छात्तीमा आघात सहेका छन्। अहिले उनको निम्ति हामी सबै अघि आउने समय आएको छ। हाम्रा क्रिकेट प्रशंसकहरूले उनलाई निराश नगर्ने मलाई विश्वास छ। उनी चाँड़ै निको हुन् भनी प्रार्थना गर्नु पर्नेछ। भविष्यमा यस्तो स्थितिको कसरी सामना गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा कपिलले भने, दुर्भाग्यले हामीसँग कुनै प्रणाली छैन। हाम्रो समयमा बोर्डसँग पैसा हुँदैन थियो तर आज स्थिति अलग छ। उनीहरूले (बीसीसीआई) अतीतका वरिष्ठ खेलाड़ीहरूका हेरचाह गर्नु पर्नेछ। हामीलाई बोर्डबाट सकारात्मक कदमको आशा छ।