सांसद राजु विष्टद्वारा दार्जिलिङमा आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण

IMG-20240713-WA0251

सम्पूर्ण नेपालीभाषी जात-जातिहरूलाई एकसूत्रमा बाँध्ने हाम्रा आदर्श अनि जातियताका प्रतीक हुन् भानुभक्त आचार्य: सांसद राजु विष्ट

दार्जिलिङ: आज आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म-जयन्तीको अवसरमा नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा सूधपा सभागृहमा आयोजित भव्य कार्यक्रममा दार्जिलिङ संसदीय सिटको सांसद राजु विष्ट उपस्थित रहेका थिए। सांसद राजु विष्टले आदि कवि भानुभक्त अाचार्यलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

यस अवसरमा बोल्दै सांसद राजु विष्टले सम्पूर्ण नेपालीभाषी जात-जातिहरूलाई एकसूत्रमा बाँध्ने सरल एवं सहजै बोधगम्य नेपाली भाषामा भानुभक्तिय रामायणसँगै नेपाली सामाजिक रीति-थिति, परम्परा अनि संस्कृतिको जगेर्ना गर्ने विभिन्न रचनाहरूका स्रष्टा हाम्रा आदर्श अनि जातियताका प्रतीक हुन् भानुभक्त आचार्य भनी बताएका छन्।
उनले आफ्नो सम्बोधनमा भने, ‘भारतभरि भानुभक्त जयन्तीलाई एक जातिय पर्वको रूपमा मनाउने गरिन्छ। भारतका विभिन्न राज्यमा छरिएर बसेका नेपालीभाषी भारतीयहरूको अस्तित्वको लडाइँले गर्दा नै होला विभिन्न भाषिक समूहहरूको सम्पर्क भाषाको रूपमा नेपाली भाषाको प्रयोग बढ्दो रूपमा भयो र भानुभक्तद्वारा प्रयुक्त नेपाली भाषाले सबैलाई एकसूत्रमा बाँध्ने काम गऱ्यो। यसै कारणले गर्दा भानुभक्तलाई धेरै सम्मानका साथ सम्झना गरिन्छ।’
उनले अघि भने, ‘नेपाली साहित्य सम्मेलन, दार्जिलिङको पनि यो शताब्दी वर्ष हो र यसले नेपाली भाषा-साहित्य, संस्कृति, रीति-रिवाज अनि परम्पराहरूको अभिवृद्धिमा गरेको योगदान प्रशंसनीय छ। आजको समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा भानुभक्तिय रामायण पाठसँगै स्वरचित कविताहरूको प्रस्तुतिले आजको पुस्तामा आफ्नो भाषा अनि साहित्यप्रतिको अनुराग अनि सम्मानलाई निश्चय नै बढ़ाउने छ।
नेपाली साहित्य सम्मेलन, दार्जिलिङका डा. सीके राई एवं समस्त पदाधिकारीगण एवं सदस्यहरू यसका लागि प्रशंसाका पात्र हुनुहुन्छ।”

आजको यस समारोहमा सांसद राजु विष्टसंग साहित्यकार राजबहादुर राई, दार्जिलिङका विधायक निरज जिम्बा अनि अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो।

About Author

Advertisement