खरसाङ: दार्जिलिङको सांसद राजु विष्टले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूको साथै एनएच ५५ (हालमा एनएच ११०) अन्तर्गत पगलाझोड़ा र महानदीको पैह्रोको निरीक्षण पनि गरेका छन्। सांसद राजु विष्टले तीनधारे आएर वी लभ तीनधारेमा केही झण निस्केर निरीक्षण गरी त्यसपछि तीनधारे र सिविटार जाने रोडमा गएको पैह्रोको निरीक्षण गरी बाघमारा बस्ती पुगेका थिए। बाघमारा बस्तीमा उनलाई स्थानीयहरूले स्वागत जनाएका थिए भने बाघमारा बस्तीमा रहेको विभिन्न समस्याहरू साथै रोडको अवस्था विषयमा स्थानीयहरूले सांसद राजु विष्ट समक्ष जानकारी गराए।

बाघमारा बस्तीमा एउटा सार्वजनिक भवन निर्माणको लागि पनि स्थानीयहरूले सांसद समक्ष मांग राखेका छन्। यसावधि सांसद राजु विष्टले १०३ वर्षीय लामा म्हेम्हे स्याङदेन म्हेम्हेलाई भेट गरी आशिर्वाद ग्रहण गरेका थिए। त्यसरी नै बाघमारा बस्तीमा रहेको ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको पनि परिदर्शन गरेका थिए। यसावधि गुम्बा सञ्चालन समितिद्वारा राजु विष्टलाई गुम्बाको माथिल्लो तला निर्माण गरिदिनलाई ज्ञापन पत्र पनि सुम्पेका थिए। बाघमारा बस्तीबाट सांसद राजु विष्ट सिविटार हुँदै महानदी भएर पगलाझोड़ाको पैह्रो निरीक्षण गर्नलाई पुगेका थिए। सांसद राजु विष्टले पगलाझोड़ामा एनएचका अधिकारीहरूसित चाढ़ै एनएच खोलाउने विषयमा बातचीत गरेका थिए। पगलाझोड़ाको पैह्रो गएको कारणले बन्द भएको एनएच ५५ खोलाउने सम्बन्धित विभागीय अधिकारीहरूसित पनि बातचीत गरेका थिए। उनले पगलाझोड़ामा पत्रकारहरूसित कुराकानी गर्दै एनएच ५५ को मरमत्तिको लागि केन्द्र सरकारको सड़क अनि परिवहन विभागबाट जम्मा ४४ करोड़ आवण्टित भएको जानकारी गराएका छन्। त्यसपछि उनी महानदीको त्रिसट्ठी पाखामा रहेको एनएचको पैह्रो निरीक्षण गर्नलाई पुगेका थिए।

उक्त पैह्रोले तानेको घरहरू पनि निरीक्षण गरेका थिए भने पैह्रो पिढित परिवारहरूलाई भेटेर समस्याहरू बुझ्दै तत्काल सहयोगको रूपमा पैह्रोले घर सबै तानेका एक परिवारलाई एक लाख रूपियाँ अनि अन्य पैह्रो प्रभावित चारवटा परिवारहरूलाई पचास हजार रुपियाँ गरेर आर्थिक सहयोग दिने घोषणा गरेका छन्। महानदीबाट उनी पुन: सिविटार हुँदै गिताङ्गे पुगेका थिए। यसावधि उनलाई सिविटार र गिताङ्गेको विभिन्न स्थानहरूमा स्थानीयहरूले स्वागत जनाएका थिए। गिताङ्गेमा स्थानीयहरूले पानीको समस्या साथै गाउँमा एउटा सार्वजनिक भवन निर्माणको लागि सांसद समक्ष निवेदन गरेका छन्। उनी गिताङ्गेबाट शिवखोला हुँदै सिलगढी फर्केका छन्।









