विद्रोहीको कब्जामा म्यानमारको विमानस्थल!

Coup-representative-image-copy

म्यानमारको अल्पसंख्यक आदिवासी विद्रोही समूह अराकानले सैन्य शासनविरुद्ध चलिरहेको द्वन्दमा एउटा विमानस्थल कब्जा गरेको छ। थान्डवे नामको यो विमानस्थल म्यानमारको पश्चिमी प्रान्त रखाइनको दक्षिणी भागमा अवस्थित छ। यसलाई मा जिन विमानस्थल पनि भनिन्छ। देशको सबैभन्दा ठूलो सहर याङ्गुनबाट यसको दुरी २६० किलोमिटर छ। थान्डवे विमानस्थल म्यानमारमा सैन्य शासन लागू भएपछि विद्रोही समूहले कब्जा गरेको पहिलो स्थान हो। यो विमानस्थलले देशको सबैभन्दा महत्त्वपूर्ण समुद्री रिसोर्टहरूसम्म सेवा गर्दछ। विमानस्थल नियन्त्रणमा लिएपछि अराकान आर्मीलाई राखिन राज्यको तटीय क्षेत्र कब्जा गर्ने बाटो खुलेको छ। अराकान आर्मीले यस क्षेत्रको उत्तरी भागमा पहिले नै नियन्त्रण गरिसकेको छ।

राखिन राज्यका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले पनि विमानस्थल कब्जा गरेको पुष्टि गरेका छन्। अहिले यो विमानस्थल अराकान समूहले कब्जा गरेपछि सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाइएको छ। सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई ध्वस्त पारेर सेना त्यहाँ शासन गर्न आयो। देशका धेरै भागमा विद्रोही समूहहरूले सैन्य शासनविरुद्ध सशस्त्र विद्रोह गरिरहेका छन्। यी विद्रोहहरूमा प्रजातन्त्रको पुनर्स्थापनाका समर्थक र छापामार समूह दुवै समावेश छन्। अराकान आर्मीले टेलिग्राम एपमा एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा लडाइँपछि ४०० भन्दा बढी सैनिकको शव भेटिएको बताएको छ। यस बाहेक विद्रोहीले ठूलो परिमाणमा गोलाबारुद पनि बरामद गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अराकान आर्मीको यस्तो दावीको पुष्टि भएको छैन।

अराकान आर्मी म्यानमारको अल्पसंख्यक बौद्ध राखिन समुदायको सैन्य शाखा हो। यसको उद्देश्य म्यानमार सरकारबाट राखिन राज्यको स्वायत्तता प्राप्त गर्नु हो। अरकान आर्मीलाई अरखा आर्मी पनि भनिन्छ। गत वर्ष नोभेम्बरदेखि अरकान आर्मीले ९ वटा बस्ती कब्जा गरिसकेको छ। सेनाले म्यानमारमा १ फरवरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरु पक्राउ परेका थिए। त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन्। यस्ता कैयौं मुद्दामा उनी दोषी ठहर पनि भएकी छन्। उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन्। यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरे। सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो। तर, पछि बढाइएको थियो। पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यानमारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ। म्यानमारले आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ। द गार्डियनको रिपोर्टका अनुसार म्यानमारमा हवाई हमला दैनिकी बन्न थालेको छ। सेनाले आफ्ना विरोधीलाई खोज्न कुनै कसर बाँकी राखेको छैन। जसका कारण उनीहरू सर्वसाधारणलाई लक्षित गरिरहेका छन्।

About Author

Advertisement