लण्डन: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले होल्गर रुनेलाई पराजित गरी सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाए। जोकोविचले खिताब जित्ने दिशामा कदम बढ़ाउँदै डेनमार्कका खेलाड़ी रुनेलाई सीधा सेटमा ६-३, ६-४, ६-२-ले पराजित गरे। दोस्रो वरीयता प्राप्त जोकोविचले अब क्वार्टर फाइनलमा विश्वका नवौं नम्बरका खेलाड़ी अष्ट्रेलियाका एलेक्स डि मिनौरको चुनौती स्वीकार्नेछन्, जसले अन्य एउटा म्याचमा फ्रान्सका अर्थर फिल्सलाई ६-२, ६-४, ४-६, ६-३-ले पराजित गरे। रुनेलाई प्री-क्वार्टर फाइनल म्याचमा शुरुदेखि नै संघर्ष गरिरहेको देखियो। विम्बल्डनको पुरुष एकलमा सातपल्टका च्याम्पियन जोकोविचले असल प्रदर्शन गरे अनि पहिलो सर्विसमा ७५ प्रतिशत पोइण्ट्स बनाए। म्याच जितेपछि सर्बियाई दिग्गजले भने, म धेरै खुशी छु तर ईमानदारीपूर्वक भन्नु पर्दा रुने यस म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको नजिक पनि पुगेको जस्तो लागेन। उनको निम्ति शुरुवात नै कठिन रह्यो अनि उनले पहिलो १२ पोइण्ट्स गुमाए।
यसरी जोकोविच आफ्नो करियरमा १५औं पल्ट विम्बल्डनको क्वार्टर फाइनलमा पुगे अनि उनी यस ग्रास कोर्ट टुर्नामेण्टमा सर्वाधिकपल्ट अन्तिम आठमा पुग्ने दोस्रो खेलाड़ी बनेका छन्। यस मामिलामा जोकोविचले जिमी कनर्सलाई पछि छोड़े, जसले १४ पल्ट विम्बल्डनको क्वार्टर फाइनलमा स्थान बनाएका थिए। अहिले जोकोविचभन्दा अघि एकमात्र रोजर फेडरर रहेका छन्, जसले १८ पल्ट सालको तेस्रो ग्राण्ड स्ल्यामको क्वार्टर फाइनल खेलेका थिए। यसबीच पुरुष एकलका अन्य म्याचहरूमा इटलीका लोरेञ्जो मुसेत्तीले फ्रान्सका जियोवान्नी एमपेत्सीलाई पराजित गरी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामकोको क्वार्टर फाइनलमा स्थान बनाए। मुसेत्तीले २१ वर्षीय प्रतिद्वन्द्वीलाई ४-६, ६-३, ६-३, ६-२-ले पराजित गरे।








