गान्तोक: राज्य शिक्षा विभागले उच्चतर माध्यमिक र माध्यमिक विद्यालयका प्रमुखहरूको निम्ति पॉंच दिवसीय नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजन गऱ्यो। उक्त कार्यक्रम गत २ जुलाईदेखि ६ जुलाईसम्म लोवर बुर्तुकस्थित एससीईआरटी, सिक्किममा आयोजन गरिएको थियो। कार्यक्रममा राज्यको छवटै जिल्लाबाट विद्यालय प्रमुखहरू सहभागी बनेका थिए।
प्रशिक्षण कार्यक्रम आयोजन गर्नुको उद्देश्य विद्यालय प्रमुखहरूलाई विद्यालय नेतृत्वका विभिन्न अवधारणाहरू र विद्यालयको रूपान्तरणमा विद्यालय नेतृत्वको प्रभावको समग्र मूल्याङ्कनमा अभिमुखीकरण गर्नु थियो। प्रशिक्षणको उद्देश्य विद्यालय प्रमुखहरूको भूमिकाको आत्मनिरीक्षण र विश्लेषण गर्ने अवसर प्रदान गर्नुका साथै आफ्ना अनुभवहरू आदान प्रदान गर्न, उनीहरूका चिन्ता र शंकाहरूलाई स्पष्ट पार्न र उनीहरूको नेतृत्व क्षमताहरू प्रदर्शन गर्न मञ्च उपलब्ध गराउने पनि रहेको बताइएको छ।
समापन कार्यक्रममा उपस्थित शिक्षा मन्त्री राजु बस्नेतले शिक्षाप्रति राज्य सरकारको प्रतिबद्धताबारे जानकारी गराउॅंदै विद्यालय प्रमुखहरूलाई विद्यार्थीहरूको भलाइका लागि काम गर्न अनुरोध गरे। यसैगरी, सचिव (स्कूल शिक्षा) टाशी छोपेलले विद्यालय प्रमुखहरूबाट सक्रिय सहभागिताको निम्ति खुशी प्रकट गरे। उनले विद्यालय प्रमुखहरूलाई प्रशिक्षणको क्रममा प्राप्त शिक्षाको सक्दो उपयोग गर्न आह्वान गरे। उनले विभागको तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।