यूरो कप २०२४: लड़ाकू तुर्कियेको बिदाई, नीदरल्याण्ड सेमिफाइनलमा

IMG-20240707-WA0139

बर्लिन: एक गोलले पछाड़िए पनि असाधारण पुनरागमनको साथ नीदरल्याण्डले यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान पक्का गऱ्यो। शनिवार अबेर राति खेलिएको चरम रोमाञ्चक चौथो क्वार्टर फाइनलमा नीदरल्याण्डले तुर्कियेलाई २-१-ले पराजित गऱ्यो। यस जीतको साथै डच टीमले २० सालको लामो प्रतीक्षापछि टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। यसरी पूरा टुर्नामेण्टमा असाधारण फूटबल खेल्ने तुर्कियेको अभियानमा चाहिँ विराम लाग्यो। ओलम्पियास्टेडियन बर्लिनमा ६० प्रतिशत पोजेशनको साथ खेले पनि नीदरल्याण्डले शुरुमै गोल खायो। सामत अकायदिनले ३५औं मिनटमा दर्शनीय हेडरद्वारा गोल गरी तुर्कियेलाई बढ़त दिलाए। त्यसपछि नीदरल्याण्ड दोस्रो हाफमा पनि निक्कै समयसम्म पछाड़िएको थियो। यस्तो दबाउको परिस्थितिबीच स्टेफान डी व्रिजले ७०औं मिनटमा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। त्यसको ६ मिनटपछि तुर्कियेका खेलाड़ी मेर्ट मुल्डरले आत्मघाती गोल गर्दा नीदरल्याण्डलाई २-१-को बढ़त हासिल भयो। त्यही बढ़तलाई अन्तसम्म कायम राखेर नीदरल्याण्डले सेमिफाइनलको टिकट हासिल गऱ्यो। तुर्कियेको टीमले पूरा म्याचमा नीदरल्याण्डमाथि दबाउ सृष्टि गऱ्यो अनि यस अवधि टीमले केही असल मौकाहरू गुमायो। विशेषगरी म्याचको अन्तिम १० मिनटमा त तुर्कियेले नीदरल्याण्डको डिफेन्सलाई चरम दबाउमा राख्यो तर गोल हासिल गर्न नसक्दा टीमले टुर्नामेण्टबाट विदा लिनु पऱ्यो।

म्याचमा डच गोलकीपर बार्ट भरब्रुगेनले दुईवटा असाधारण शेभ गरे। अब १० जुलाईमा खेलिने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल नीदरल्याण्ड र ईंग्ल्याण्डबीच ११ जुलाईमा खेलिनेछ। फाइनल १५ जुलाईमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement