बिराटनगर: क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ ग्रेडमा समावेश भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने छ। लामिछानेसँगै अब ‘ए’ ग्रेडमा समेटिने राष्ट्रिय खेलाडीको संख्या ७ पुगेको छ।
यसअघि ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेफ र कुशल भुर्तेल समावेश भइसकेका छन्। अब सन्दीपले पनि अन्य ‘ए’ ग्रेडका खेलाडीहरु सरह १ लाख रुपैयाँ मासिक तलब पाउनेछन्।
कार्यसमिति बैठकले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा उनलाई बधाई समेत दिएको छ। बैठकले क्यानको प्रवक्तामा केन्द्रीय सदस्य छुम्बी लामालाई नियुक्त गरेको छ।