बिराटनगर: सोमबारसम्म मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार सुरू भएको मौसम बदली भोली सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत् रहने सम्भावना रहेको जनाएको हो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका भारी वर्षाको सम्भावना छ।