बिराटनगर: उपसभामुख इन्दिरा रानाले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै आएको बताइन। तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा
उनले भनिन “नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ।”
उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन्।
उनले हिमालय क्षेत्रका देशहरूका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्त्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरिन्।
“ट्रान्स हिमालयन फोरम यस क्षेत्रका देशहरूका बिचमा थप सहकार्यका लागि मार्ग प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ।”, उहाँले भन्नुभयो “यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबिचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्नेछ।”
ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठुला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औँल्याउँदै उनले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुनेछन् भन्ने धारणा अघि सारेकी थिईन्।