४० गाई बरामद, दुई पक्राउ
सिलगढी: तरकारी बोकेको लरीबाट ४० वटा गाईवस्तु बरामद भएको छ। यस घटनामा फाँसीदेवाको विधाननगर अनुसन्धान केन्द्रको पुलिसले दुई जनालाई पक्राउ गरेको छ। विधाननगर अनुसन्धान केन्द्रको पुलिसले शनिबार राष्ट्रिय राजमार्ग–३१ फाँसीदेवाको विधाननगरमा कारबाही गरी तरकारी बोकेको लरीलाई अनुसन्धानका लागि रोकेको हो। लरी रोकेर खोजी गर्दा ४० वटा गाईवस्तु बरामद भएको थियो। त्यसपछि चालक र सहचालक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुको नाम मेहन्दी हसन (२९) र मोतियार रहमान (३१) रहेको छ। दुवै जना दक्षिण दिनाजपुर जिल्लाको कुष्माण्डी क्षेत्रका बासिन्दा हुन्। पुलिस स्रोतका अनुसार दक्षिण दिनाजपुर जिल्लाको कुशमण्डीबाट गाईवस्तु ल्याइएको हो। लरीलाई नियन्त्रणमा लिएर पुलिस थानामा राखिएको छ। घटनामा अरु को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान केन्द्रको बिधाननगर पुलिसले जनाएको छ। पक्राउ परेका दुवै अभियुक्तलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।











