खरसाङ: घैयाबारी र महानदीबीचको पगलाझोड़ामा पैह्रोले सड़क तानेपछि एनएच ५५ (हालमा एनएच ११०) पूर्ण रूपमा बन्द भएको छ। पगलाझोड़ाको ठूलो झरना नजिकमा रहेको सडक पूरै पैह्रोले तानेपछि अब यहाँ साना ठूला गाड़ीहरू र स्कुटी बाइकहरू सबै चलाउन नसकिने भएकोले एनएच ५५ (एनएच ११०) पूर्ण रुपमा बन्द भएको छ। शुक्रबार दिउँसोसम्म उक्त रोड चर्किएको अवस्थामा रहेको देखिएको थियो भने आज शनिवार पूरै सड़क दबिएर रोड बन्द भएको छ। अब यहाँबाट गाड़ीहरू कुद्न नसक्ने भएको कारणले यो रोड भएर कुद्ने गरेको बस सेवा पनि पूर्ण रुपमा ठप्प बनेको छ। हालमा मेन रोड भएर बस सेवा सञ्चालनमा रहेको थियो। तर अब यो रोड बन्द भएपछि गाड़ीहरू घैयाबारीबाट गिध्दे रोड हुँदै खरसाङ पुग्न पर्ने हुन्छ भने घैयाबारी र महानदीबीचको गाड़ीको रोड सम्पर्कविहीन बनेको छ। महानदी क्षेत्रका मानिसहरू घैयाबारी, तीनधारे, सिलगढी जान परे गिध्द पुगेर ओह्रालो गिध्दे रोड हुँदै घैयाबारी निस्केर जानु पर्ने बाध्यता देखिएको छ। त्यसरी नै तीनधारे र घैयाबारीबाट महानदी जानु परेमा पनि गिध्द पहाड़ निस्केर जानु पर्ने बाध्यता देखिएको छ। पगलाझोड़ामा पैह्रोले सड़क सबै ताने पनि रेलको लीग सुरक्षित रहेको छ कारण पैह्रो गएको ठाउँमा रेलको लीग सड़कदेखि निक्कै माथि रहेकोले रेलको लीग सुरक्षित रहेको छ। यसपाली एनएच ५५ अन्तर्गत महानदी र पगलाझोड़ामा पैह्रो गएर एनएच सड़क निक्कै खतरामा रहेको छ। महानदीको त्रिसट्ठी पाखामा पैह्रोले रोड पूर्ण रूपमा बन्द नभए पनि पगलाझोड़ाको पैह्रोले भने रोड पूर्ण रूपमा बन्द भएको छ। पगलाझोड़ाको पैह्रोले सड़क तानेपछि एनएच ५५ बन्द भएकोले शनिवार बिहानै खरसाङ ट्राफिक पुलिस ओसी सञ्जीव दत्तको अगुवाईमा पैह्रोको दुवैपट्टि ब्यारिकेट लगाउने कार्य गरिएको छ। पैह्रोको दुवैपट्टिबाट कुनै नयाँ गाडी नछिरोस् भनेर उक्त ब्यारिकेट लगाएर सुरक्षाको व्यवस्था गरिएको छ। यसको साथै बिहानै पैह्रो पोलिथिनहरूले पैह्रो प्रभावित रोड छोप्ने कार्य गरिएको जानकारी घैयाबारी १४ माइलका निलम प्रधानलो दिएका छन्। एनएच ११० अन्तर्गत पगलाझोड़ामा गएको पैह्रो प्रभावित उक्त रोडको निरीक्षण गर्नलाई सम्बन्धित विभागको अभियन्ताहरू आएका थिए। यस क्रममा कार्यकारी अभियन्ता देवव्रत ठाकुर, सहायक अभियन्ता दिपंकर लामा, जुनियर अभियन्ता पी तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। विभागीय अधिकारीहरू अनुसार यो रोड खोलाउन चाढै पहल गरिहाल्ने र केही दिनमा रोड खोलिने विश्वास व्यक्त गरेका छन्। उक्त रोड पैह्रोले तानेपछि अब एनएच ५५ (एनएच ११०) बन्द भएको छ। यो रोड बन्द हुनको साथै बस सेवा ठप्प भएपछि जनसाधारणलाई धेरै असुविधा हुने देखिएको छ।