बिराटनगर: पछिल्लो समय कुखुराको मासुको मूल्य घट्न थालेको छ।अत्यधिक गर्मीका कारण माग घटेकाले मूल्य घट्न थालेको व्यवसायीहरू बताउँछन्। कुखुराको मासुको मूल्य राष्ट्रिय कुखुरा व्यवसायी संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। एक सातादेखि कुखुराको मासुको मूल्य घट्न थालेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए। ‘उत्पादन बढी छ, माग छैन,’ उनले भने, ‘त्यसैले दुई दिनको बीचमा २० रूपैयाँ घटायौं।’ उनका अनुसार गत आइतबार र मंगलबार कुखुराको मासुको मूल्य प्रतिकिलो १०/१० रूपैयाँ घटाइएको हो। गर्मी मौसममा सधैंजसो कुखुराको मासुको मूल्य घट्ने गरेको भ्याली कोल्डस्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए।’गर्मीले कुखुराको मासुको माग घटेको छ। त्यसैले गर्दा मूल्य घटेको हो,’ उनले भने। आगामी दिनमा कुखुराको मासुको मूल्य घटबढ हुनेबारे भने अहिले भन्न नसक्ने उनले जानकारी दिए।उनका अनुसार कुखुराको मासुको मूल्य बजार मागले निर्धारण गर्छ। बजारमा माग बढ्यो भने मासुको मूल्य पनि बढ्छ, माग घट्यो भने मूल्य पनि घट्छ। जुलाई महिनामा धेरेजसो ब्रत बस्ने र माछा मासु नखाने हुनाले स्वाभाविक रूपमा माग घट्ने उनको अनुमान छ। ‘साउनमा धेरेजसोले माछामासु खाँदैनन् त्यसले माग चाहिँ घट्न सक्छ तर मूल्य के हुन्छ अहिले भन्न सकिन्न,’ उनले भने। कोरोना महामारीपछि कुखुराको मासुको मूल्य बढ्न थालेको हो। लकडाउनको सुरूआतमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँसम्म पुग्यो। विस्तारै बढ्दै जाँदा उच्चतम चार सय १५ रूपैयाँसम्म पुग्यो। यो मूल्य एकसाता अघिसम्म कायम थियो। तर विस्तारै मूल्य घट्दै जाँदा अहिले उपभोक्ताले तीन सय ८५ रूपैयाँमा पाइरहेका छन्। किसानका लागि भने ज्युँदो कुखुराको मूल्य दुई सय ७० देखि दुई सय ८० रूपैयाँ तोकिएको छ। तर पनि तोकिएको मूल्य आफूहरूले नपाएको कुखुरा उत्पादक संघका निवर्तमान अध्यक्ष झनक पौडेलले बताए। ‘हामीले मूल्य तोकेका होइनौं। व्यवसायीहरूले तोक्छन् तर आफैंले तोकेको मूल्य पनि दिँदैनन्,’ उनले भने। उनका अनुसार संघले तोकेको मूल्यमा प्रतिकिलो १० देखि १२ रूपैयाँ घटाएर किसानहरूले पाएका छन्। महामारीपछि कुखुरा व्यवसाय ठूला किसानको हातमा पुगेको उनको भनाइ छ। ‘लकडाउनको सुरूआतमा किसानले कुखुराको मूल्य पाएनन्। समयमा दाना, पानी खुवाउन नसक्दा खोरमै चल्ला मरे। लकडाउनले काम नगरी बस्दा बचत पनि सकिँदै गयो,’ उनले भने, ‘महामारीपछि साना किसान ५० प्रतिशतभन्दा बढी विस्थापित नै भए।’अहिले ठूला किसानले एकैपटक ठूलो परिमाणमा कुखुरा उत्पादन गरेकाले बिक्री बढाउन मूल्य घटाइएको उनको भनाइ छ। साना किसानले एक लटमा दुई/तीन हजार कुखुरा उत्पादन गर्थे। कहिले एउटा किसानको उत्पादन बजारमा आउँथ्यो। कहिले अर्को किसानको उत्पादन बजारमा आउँथ्यो। त्यसले माग र आपूर्ति मिलाएको थियो,’ उनले भने, ‘ठूला किसानले एकैपटक एक लाखसम्म कुखुरा उत्पादन गरेका छन्। त्यसले गर्दा आपूर्ति बढ्यो, माग घटेको होइन। एकैपटक उत्पादन बजारमा आउँदा समस्या आएको हो।’ महामारीपछि कुखुरा उत्पादन नबढेको उनको भनाइ छ। उनी भन्छन्, ‘उत्पादन बढेको छैन, साना किसानले छरिएर गरेका उत्पादन ठूला किसानले एकैपटक गरेका हुन्।’ हाल देशभर विभिन्न जिल्लामा व्यावसायिक रूपमा कुखुरा उत्पादन हुँदै आएको छ। कुखुरा व्यवसायको ‘हब’ मानिने चितवनमा मात्रै कुल उत्पादनको १२ देखि १३ प्रतिशत उत्पादन हुन्छ। त्यस्तै, सातदेखि आठ प्रतिशत कुखुरा उत्पादन काभ्रे, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लामा हुँदै आएको छ।