मुख्यमन्त्री तामाङले गरे तिब्बती संगठनका सदस्यहरूसँग भेट

IMG-20240705-WA0236

गान्तोक: हिमाचल प्रदेशको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान छःवटा तिब्बती संगठनका कार्यकारी सदस्यहरूसँगै स्थानीय टिबिटेन एसेम्बली, गान्तोकका प्रतिनिधिहरूसँग सौहार्द्रपूर्ण भेट गरे। योसँगै मुख्यमन्त्री तामाङले सिक्किम राज्यका विभिन्न क्षेत्रबाट अध्ययनको निम्ति हिमाचल प्रदेश पुगेका २८ जना कलेज अनि स्कूलका विद्यार्थीहरूसँग पनि भेट गरे। उनीहरू सबै परम पावन १४औं दलाई लामाको ८९औं जन्मदिन मनाउन साथै यस पवित्र भूमिमा उनको आशीर्वाद लिन धर्मशालामा भेला भएका थिए। यो अवसर एक महत्वपूर्ण सांस्कृतिक अनि आध्यात्मिक भेलाको प्रतीक रहेको मुख्यमन्त्री तामाङले विचार पोखेका छन्। योसँगै आदरणीय आध्यात्मिक नेताप्रति सिक्किम अनि सिक्किमेली जनसमुदायको गहिरो सम्मान रहेको दर्शाएको उनले मन्तव्य पोखेका छन्।

यसपछि मुख्यमन्त्री तामाङले हिमाचल प्रदेशको भालीमा स्थित दुर्गा माता मन्दिरको दर्शन गरे। यहाँ उनले सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख, शान्ति अनि समृद्धिको निम्ति पूजा अर्चना गरे। देवी दुर्गालाई समर्पित यो पवित्र मन्दिरले गहिरो आध्यात्मिक महत्व राख्ने साथै यस सम्मानित स्थलमा सिक्किमेली जनताको सामूहिक भक्ति र आकांक्षाहरू प्रतिनिधित्व गर्न सक्षम हुनु अत्यन्तै हृदयस्पर्शी अनुभव रहेको मुख्यमन्त्री तामाङले बताएका छन्।

जानकारी गराइन्छ, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ केही दिनदेखि राज्यबाहिर रहेर विविध कार्यक्रमहरूमा सहभागी बनिरहेका छन्। उनी अरुणाचल प्रदेशबाट सोझै नयाँ दिल्ली पुगेपछि त्यहाँबाट हाल हिमाचल प्रदेशको आधिकारिक भ्रमणमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement