डाक्टरहरूलाई गरियो सम्मान
खरसाङ: आज राष्ट्रिय डाक्टर दिवसको अवसरमा खरसाङ पञ्चायत समिति अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट खरसाङ महकुमा अस्पतालमा डाक्टर दिवस पालन गरिएको छ। यस अवसरमा खरसाङ महकुमा अस्पतालको डाक्टरहरूलाई खरसाङ पञ्चायत समिति, भागोप्रमोको पक्षबाट विशेष सम्मान प्रदान गरियो। यस अवसरमा यहाँ एक कार्यक्रमको आयोजना गरेर डाक्टरहरूलाई सम्मान पूर्वक खदा लगाएर तथा उपहारहरू प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रमलाई सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य भक्तिमान तामाङ लगायत अन्यहरूले सम्बोधन गरे। कार्यक्रममा जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पा, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। उनीनीहरूले डाक्टरहरूको निःस्वार्थ सेवाको प्रशंसा गर्दै उनीहरूको यस्तै सेवाले धेरैले नयाँ जीवन प्राप्त गर्ने जनाए औ डाक्टरहरू हाम्रा समाजका एक अभिन्न अंग हुन् भनी जनाए। वक्ताहरूले डाक्टरहरूलाई हामीले सदैव सम्मान र इज्जत गर्नुपर्ने पनि जनाए।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिका सदस्य वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।