सुखिम याकथुङ सापसोक सोङचुम्भोद्वारा पहलमान सुब्बाको निधनमा शोक प्रकट

IMG-20240628-WA0244

गान्तोक: सुखिम याकथुङ सापसोक सोङचुम्भोले संस्थाका संस्थापक अध्यक्ष एवं सिक्किमको पहिलो निर्वाचित लोकसभा सांसद पहलमान सुब्बाको निधनमा शोक व्यक्त गरेको छ। संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पहलमान सुब्बाको निधनमा शोक व्यक्त गर्न हिजो एक आपातकाल बैठक राजधानीको डीपीएचस्थित याकथुङ हिममा बस्यो।

बैठकमा दिवंगत आत्माको शान्तिको निम्ति दुई मिनट मौन धारण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

संस्थाका अध्यक्ष सीएस लिम्बूले स्वर्गीय सुब्बाको जीवन इतिहास र योगदानमाथि प्रकाश पारे। उनले लिम्बू समुदायको शिर्षस्थ संस्थाको स्थापना गर्न स्वर्गीय सुब्बाको मुख्य भूमिका रहेको थियो भने।

स्वर्गीय सुब्बा संस्थाको अध्यक्ष हुॅंदा संस्थाको पञ्जीकरण गराएको, लिम्बू भाषालाई राज्यको एक भाषाको रूपमा मान्यता दिलाएको, लिम्बहरूलाई सिक्किमका अन्य समुदायसॅंगै अन्य पछौटे वर्गहरूको सूचीमा सामेल गराएको, भोटिया र लेप्चासॅंग लिम्बू भाषालाई पनि कक्षा १० अनि १२ को लागि सीबीएसईमा सामेल गराएको, डीपीएच रोडमा याकथुङ हिमको निम्ति साइट एलटमेन्ट गराएको, अल इण्डिया रेडियोमा लिम्बू कार्यक्रम शुरू गर्न पहल गरेको आदि जस्ता उनका योगदानमाथि प्रकाश पारियो।

स्वर्गीय सुब्बा सांसद छॅंदा सिक्किमे लिम्बू समुदायलाई जनजातिको मान्यता दिलाउन लोकसभा र राज्यसभाका सबै सांसदहरूलाई ज्ञापन बुझाएको पनि अध्यक्षले बताए। उनले पहलमान सुब्बाको निधन सम्पूर्ण सिक्किमेहरूको निम्ति अपूर्णीय क्षति रहेको बताए।

यसैगरी, बैठकले दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement