गान्तको: पूर्व सिक्किमको रङ्गेली क्षेत्रअन्तर्गत लोवर दलपचन्दको, पेट्रोल पम्प नजिक एउटा घरमा आज भीषण आगलागी भयो। रिनाक फायर स्टेशनबाट प्राप्त जानकारीअनुसार स्थानीय कुमार गुरुङको दुई तल्ले कच्चा घरमा आगलागी भएको थियो। घट्नाबारे दिउँसो २ बजेर १४ मिनटमा रिनाक फायर स्टेशनलाई सूचना प्राप्त भएको थियो। सूचना पाएपछि ६ जना फाइयर फाइटरको टोली घट्नास्थलतिर रवना भएको थियो जसले स्थानीयवासीहरू अनि स्थानीय पुलिसको सहयोगमा आगोलाई नियन्त्रणमा ल्यायो। आगलागीमा कसैको ज्यानको भने क्षति भएन तर दुई तल्ले घरलाई भने भारी क्षति पुऱ्याएको छ।
प्राप्त जानकारीअनुसार कुमार गुरुङको उक्त कच्चा घरको तल्लो तल्लामा राशन दोकान थियो भने माथिल्लो तल्ला किरायमा चड़ाएको थियो। घट्नाको समय किरायवालाहरू घरमा थिएनन्। आगालागीले दुईतल्ले कच्चा घरलाई धेरै क्षति पुऱ्याए पनि छेवैमा रहेको कुमार गुरुङकै पक्का घर अनि वरपरका अन्य घरहरूलाई भने कुनै क्षित पुऱ्याएन। प्रारम्भिक जाँचमा आगलागीको कारण इलेक्ट्रिक सर्ट सर्किट रहेको अनुमान लगाइएको छ।