गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले असार पन्ध्र पर्वको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। राज्यपालले आफ्नो सन्देशमा विशेष गरेर राज्यका कृषकहरूलाई बधाई एवम शुभकामना दिएका छन्। सांस्कृतिक, पारम्पारिक एवम कृषिसँग जोडिएको महत्वपूर्ण यो पर्व केवल धान रोपाइको प्रारम्भिक प्रतिक नभएर हाम्रो समाजमा कृषि अनि किसानको महत्वलाई पनि दर्शाउने गरेको बताएका छन्। यस दिन हाम्रो कृषकहरूले प्रतिकूल मौसमको परिस्थितिबीच पनि धान रोपाइमा जुटने गर्दछन् अनि अथक परिश्रम सहित यस पर्वलाई अति हर्सोल्लाहसको साथमा असारे गीत गाउँदै मनाउने प्रचलन रहेको बताएका छन्। यस अवसरमा विशेष गरेर कृषिसँग जोडिएका मानिसहरूले दही चिउरा खाने प्रचलन रहेको र यस दिन वर्षको सबैभन्दा व्यस्त दिनकोरूपमा मानिने गरिन्छ। यस दिन कृषकहरूले एक अर्कांमा मिलेर काम गर्ने र एक अर्कालाई सहायता दिने गरेको उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। कृषकहरू केवल अन्नदाता मात्र नभएर समाजको मेरूदण्ड रहेको राज्यपालले बताएका छन्। विशेष गरेर राज्यका कृषकहरूले जैविक खेती अप्नाएर विश्वस्तरमा एक उदाहरण प्रस्तुत गर्दै अन्यहरूको निम्ति पनि अनुकरणीय बनेका छन्।