गान्तोक: सिक्किमे छोरा अन्तरराष्ट्रिय आर्चर पद्मश्री तरुणदीप राई समर पेरिस ओलम्पिक २०२४-को निम्ति भारतीय टोलीमा छनौट भएका छन्। उनी भारतीय पुरुष रिकर्व टोलीमा छनौट भएका हुन्। यो छनौटसँगै आर्चर तरुणदीप राईले चौथोपल्ट ओलम्पिक खेलमा भारतको प्रतिनिधित्व गर्ने भएका छन्।जानकारी गराइन्छ, पेरिस समर ओलम्पिक आगामी २६ जुलाईदेखि शुरु भएर ११ अगस्तमा समाप्त हुनेछ। पेरिस अनि स्टेडी डी फ्रान्समा आयोजन हुने यस प्रतियोगितामा लगभग १० हजार ५०० खेलाड़ीहरूले विभिन्न खेल अनि वर्गमा प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ। विश्वकपदेखि अन्य विभिन्न अन्तरराष्ट्रिय, राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा स्वर्णदेखि काँस्यसम्म थुप्रै पदक हत्याएर देशसँगै सिक्किमेहरूलाई गर्वित तुल्याउन सफल सिक्किमे छोरा आर्चर तरुणदीप राईले यसपालीको ओलम्पिकमा निश्चित रूपमा पदक हत्याउने अपेक्षा गरिएको छ। यस ओलम्पिकमा पदक हत्याउन उनी तयार रहेका छन्। यसअघि २००४ एथेन्स समर ओलम्पिक, २०१२ लण्डन ओलम्पिक अनि कोरोनाको कारण एक वर्ष पछि सारिएको टोक्यो ओलम्पिक २०२१-मा आर्चर तरुणदीप राईले देशको प्रतिनिधित्व गरिसकेका छन्। राष्ट्रिय टोलीबाट चौथोपल्ट ओलम्पिक खेलको निम्ति छनौट भएका तरुणदीप राईलाई राज्यवासीको पक्षबाट बधाई अनि शुभकामना दिने क्रम पनि शुरु भइसकेको छ।