राजधानीमा पालन गरियो १०औं अन्तरराष्ट्रिय योग दिवस

IMG-20240621-WA0027.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यको मुख्य आतिथ्यमा यहाँको पाल्जोर स्टेडियममा आज राज्यस्तरीय १०औं अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। सिक्किम राज्य आयुष सोसाइटी, स्वास्थ्य एवं परिवार कल्याण विभागको आयोजनमा सम्पन्न यसपालीको अन्तरराष्ट्रिय योग दिवसको थिम “स्वयं अनि समाजको निम्ति योग’’ रहेको थियो। मुख्य अतिथि राज्यपालसँगै विशिष्ट अतिथिको रूपमा राज्यका स्वास्थ्य एवं परिवार कल्याण अनि संस्कृति विभागका मन्त्री जीटी ढुंगेल अनि विशेष अतिथिको रूपमा राज्यका जनस्वास्थ्य अभियान्त्रिकी, जलस्रोत अनि धर्म मामिला विभागका मन्त्री सोनाम लामा उपस्थित रहेका थिए।

आफ्नो संक्षिप्त सम्बोधनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आजको दिनलाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा विश्वभरि पालन गराई योगलाई नयाँ पहिचान दिलाउन प्रधानमन्त्री नरेन्द्र मोदीको उल्लेख्य भूमिकाको सराहना गरे। उनले योगको द्रुत गतिमा बढ्दो लोकप्रियतालाई प्रकाश पारे। योगले विश्वलाई एकताबद्ध गर्दै शान्ति, भाइचारा र सद्भावको सन्देशलाई बढावा दिइरहेको राज्यपालले विचार पोखे। उनले सिक्किम राज्यमा योग दिवस मनाउन पाउँदा खुशी व्यक्त गर्दै उपयुक्त सुविधा र पूर्वाधारको विकाससँगै सिक्किमलाई योग र ध्यानको लागि विश्वस्तरीय केन्द्रको रूपमा स्थापित गर्न सकिने विचार साझा गरे। उनले बताएअनुसार, यसले स्थानीय पर्यटन र अर्थव्यवस्थालाई बढावा दिनेछ साथै मानिसहरूलाई स्वस्थ जीवनको कला प्रदान गर्नेछ अनि सिक्किमलाई योग र ध्यानको लागि विश्वव्यापी गन्तव्य बनाउनेछ। राज्यपालले “स्वयं अनि समाजको निम्ति योग’’ थिमलाई आत्मसात् गर्नुपर्ने प्रत्येकलाई आह्वान गर्दै स्वस्थ जीवनशैलीको निम्ति योगलाई जीवनको अभिन्न अंग बनाई स्वस्थ सिक्किम, स्वस्थ राष्ट्र अनि स्वस्थ विश्व बनाउनुपर्ने कुरामाथि जोर दिए। योग अभ्यासमार्फत हामीले स्वयंलाई स्वस्थ, शान्त, खुशी अनि ऊर्जावान राख्न सकिने साथै समृद्ध समाज निर्माणमा योगदान दिन सक्छौं भन्ने राज्यपालले विचार पोखे।

स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेलले आफ्नो सम्बोधनमा सामाजिक विकासमा स्वास्थ्य र कल्याणको बृहत्तर प्रभावबारे उल्लेख गर्दै योग जस्ता समग्र स्वास्थ्य अभ्यासलाई दैनिक दिनचर्यामा समावेश गर्नुपर्ने कुरामा जोर दिए। “स्वास्थ्य प्रगतिको आधारशिला हो। समग्र अभ्यासहरू अंगालेर, हामीले व्यक्तिगत कल्याण मात्र होइन हाम्रो समुदायलाई पनि बलियो बनाउनुपर्छ भन्ने कटिबद्धता व्यक्त गरे। उनले योसँगै दैनिक जीवनमा योगको महत्वबारे प्रकाश पार्दै समग्र स्वास्थ्यमा यसले पुऱ्याउने फाइदाबारे जानकारी गराए।योग सत्रको अगुवाई आयुष एसटीएनएमका चिकित्सा अधिकारी डा. सुमीरण तामाङ अनि दुर्गा सापकोटाले गरेका थिए। उनले विभिन्न आसनसँगै यसको महत्त्वबारे जानकारी गराए। राज्यस्तरीय १०औं अन्तरराष्ट्रिय योग दिवस कार्यक्रममा विधानसभाका उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, गान्तोक नगरनिगमका उप-मेयर, पुलिस महानिदेशक, सचिवगण, विभागीय प्रमुखहरू, विभिन्न विभागका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

About Author

Advertisement