बेंगलुरु: भारतीय क्रिकेट टीमका पूर्व पेस बलर डेविड जनसनको यहाँ बालकनीबाट झरेर मृत्यु भयो। कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)-का एकजना अधिकारीले यस खबरको पुष्टि गरेका छन्। त्यो दुर्घटना थियो या जनसनले आत्महत्या गरेका हुन् भन्ने चाहिँ स्पष्ट भएको छैन। उनी ५२ वर्षका थिए अनि उनको परिवारमा पत्नी र दुईजना नानी रहेका छन्। स्थानीय मीडिया रिपोर्टहरू अनुसार, जनसनले आफ्नो घरको नजिकमा एउटा क्रिकेट एकाडमी चलाउँथे अनि हालका दिनहरूमा उनी आर्थिक संकटसँग जुझिरहेका थिए। केएससीए-का अधिकारीले भने, हामीलाई उनी आफ्नो अपार्टमेण्टको चौथो तल्लाबाट झरेको खबर प्राप्त भयो। उनलाई अस्पताल लगिएको थियो तर डाक्टरहरूले उनलाई मृत घोषित गरे। कर्नाटकको अरासिकेरेमा १६ अक्टोबर १९७१-मा जन्मिएका जनसनले अक्टोबर १९९६-मा अष्ट्रेलिया विरुद्ध भारतको निम्ति पदार्पण (डेब्यू) गरेका थिए। जनसनले भारतको निम्ति दुईवटा टेस्ट म्याच खेलेर ३ विकेट हासिल गरे। प्रदर्शनमा निरन्तरताको कमीले गर्दा उनको अन्तर्राष्ट्रिय करियर धेरै लामो चलेन। यसरी उनले ३९ वटा प्रथम श्रेणीको म्याचमा १२५ र ३३ वटा लिस्ट ए म्याचमा ४१ विकेट हासिल गरेका थिए। उनी आफ्नो समयमा भारतका सबैभन्दा तेज बलरहरूमा एक थिए।










