खरसाङ: भारतीय फूटबल टीमको चमत्कारी कप्तान तथा जण्डा फरवर्ड सुनिल छेत्री आज आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेल्न मैदानमा ओर्लिनेछन्। कलकत्ताको सल्ट लेक स्टेडियममा फिफा वर्ल्ड कप क्वालीफायर चरणअन्तर्गत बिहीवार कुवैत विरुद्ध म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। भारतीय टीमका कप्तान सुनिल छेत्रीको १९ सालको स्वर्णिम अन्तर्राष्ट्रिय करियरलाई सम्मान दिँदै उनको बिदाई म्याचलाई केन्द्र गरेर आज खरसाङ फूटबल एसोसिएशन (केएफए) र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-द्वारा एउटा विशेष कार्यक्रमको आयोजन गरियो। खरसाङ रेलवे स्टेशन परिसरमा आयोजित यस कार्यक्रममा सुनिल छेत्रीको स्वर्णिम करियर र खेल प्रति उनको योगदानलाई सम्मानपूर्वक याद गरियो। भारतको निम्ति सर्वाधिक १५० वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गर्ने छेत्रीको करियरलाई याद गर्दै केएफए-का महासचिव सुदीप राईले भने, यो हाम्रो निम्ति ठूलो गर्वको कुरा हो। उनलाई १९ वर्षको यादगार करियरको निम्ति बधाई अनि भविष्यका योजनाहरूका निम्ति शुभकामना दिन चाहन्छौं। हामी केएफए र यूकेएफसी परिवार उनको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछौं। भारतीय फूटबलमा उनको योगदानलाई युगौंसम्म याद गरिनेछ।










