गान्तोक: विभिन्न सञ्चार माध्यमहरूमा एसडीएफ कार्यकर्ताहरूले राजीनामा दिएको सम्बन्धमा प्रकाशित समाचारहरू झुटा रहेको र कथित व्यक्तिहरूले एसडीएफ पार्टीलाई बद्नाम गर्ने मनसाय झल्किएको एसडीएफ पार्टीले बताएको छ। यी विषयहरूलाई एसडीएफ पार्टीले गम्भीरतापूर्वक लिएको बताइएको छ।
एसडीएफ प्रचारप्रसार महासचिव विष्णु दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, एसडीएफ पार्टी, देशको संविधानले दिएको हक र अधिकारलाई प्रयोग गर्दै, आफ्नै पार्टीको विधि विधान र संविधान अनुसार चल्दछ। एसडीएफ पार्टीको संविधानअनुसार कुनै पनि पार्टीको सदस्यले २ वर्षसम्म आफ्नो सदस्यता नविकरण गर्दैनन् ती सदस्य स्वाचालित रूपमा पार्टीका सदस्य रहदैनन्। उनीहरूको सदस्यता स्वतः खारेज हुन्छ।
२०१९ को चुनाउपछि ती राजीनामा गर्ने व्यक्तिहरू पार्टीको कुनै पनि कार्यक्रममा सहभागी बनेनन् र उनीहरूले सदस्यता नवीकरण पनि गरेका छैनन् भन्दै उनीहरूले आज कसरी पार्टीबाट राजीनामा माग्दैछन् भनी प्रश्न गरिएको छ। एसडीएफ पार्टीले सञ्चार माध्यमहरूलाई अप्रमाणित खबरहरू प्रसारण नगरिदिने अनुरोध गरेको छ।
यस्ता सम्बन्धित व्यक्तिहरूलाई पनि एसडीएफले आफ्नो फाइदाका लागि बनावटी र कपोकल्पीत बहाना बनाएर पार्टीलाई बद्नाम गर्ने खेल नखेल्न सुझाउ दिएको छ। यस्तो अराजनीतिक चरित्रले प्रजातन्त्र, जनता र राज्यलाई नै नोक्सान हुने हुनाले आ-आफ्नो ज्ञान र विवेकको सन्तुलनलाई जोगाउन उनीहरूलाई एसडीएफ पार्टीले शिक्षा दिएको छ।











