सेन्ट रोबर्ट्स स्कूल दार्जीलिङमा डा. सन्दुक रुइको प्राथमिक शिक्षा

IMG-20240603-WA0224

नेपालको अत्यन्तै अभेग पहाडी क्षेत्र जहाँ प्राय:जसो हिउँले ढाकिएको चिसो ठाउँ ‘ओलाङ्चुङगोला’ जहाँ डा. सन्दुक रुइतको जन्म भएको थियो। समुद्री सतहबाट करिब दुई सय किलोमिटरको उचाईमा रहेको उत्तरपूर्वी नेपालको हिउँले ढाकिएको गाउँ जहाँ दुई सय मानिसहरूको बसोबास थियो। उनका पिता सोनाम वाङ्ग्याल रुइत अनि उनका परिवारले १९६० को‌ दशकमा काठमाडौं बसाइँ सरेपछि तिब्बतको पुर्ख्यौली गाउँ रुथोकलाई सम्झननमा रहिरहोस् भनेर आफ्नो थर  ‘वाङगुलको’ पछाडि ‘रुइत’ थपेको बताइन्छ। डा. रुइतको जन्म ४ ता: सेप्टेम्बर १९५४ सालमा भएको थियो। आफूले पढ्न नपाएपनि आफ्नो छोरा सन्दुकलाई सात बर्षको उमेरमा  उनको बाबुले दुर्गम पहाडी क्षेत्र हुँदै हुँक्कारिएर बगिरहेको तोमर नदी पार गराउँदै अनेकौं भिर पहरा छिचोल्दै पन्द्रह दिनको लामो पैदल यात्रा तय गरेर दार्जीलिङको सेन्ट रोबर्टस स्कूलमा प्राथमिक शिक्षा दिन भर्ना गराएका थिए।

त्यस समय सन्दुकलाई आफ्नो तिब्बती भाषा बाहेक अरू कुनै भाषा आउँदैन थियो रे भन्छन्। आफ्नो भेषभुषा अरुको सामु अनौठो देखिएको कारण आफैलाई पाखे सम्झेको कुरा उनी भन्छन्। सहपाठीहरूले गिज्याउने र‌ हेप्ने कुराले महिनौंसम्म कसैसँग नबोली बसेका कुराले आँखा स्वतः रसिलो हुन्छ। तर फादर म्याकेले उसलाई धेरै माया गरेर उचित शिक्षा लिने प्रोत्साहन गरिरहनुभएको कारणले उर्जा प्राप्त भयो भन्ने गर्छन् उनी। छुट्टीमा सबैलाई आआफ्नो अभिभावक लिएर जान्थे तर सन्दुकलाई लिन कोही न आउँदा उनी उदासिन भयेर बस्नु बाहेक विकल्प थिएन। उनका आमाबुबा टाढा नेपालमा अनि बाबु सधैं नुन व्यापारको निम्ति तिब्बत र भारततिर जानुपर्ने। उसको नियास्रो अवस्थालाई ध्यानमा राख्दै फादर म्याकेले उसलाई सानो तिनो कामना अल्झाएर भुलाउन चाहन्थें। भान्सामा सब्जी काट्न, बगैंचामा फूलहरूमा पानी हाल्नु आदि। कोही नभएको बेलामा यसरी नै सन्दुक भुलिन्थे। फादरले एकदिन उसलाई लाइब्रेरी देखाइदिए। पुस्तकालय देखेर संसार नै देखेजस्तो भयेको अनुभव बताउँछन् उनी। तर कुनै भाषामा ज्ञान नभएको कारण अर्थ न बर्थका रङ्विहीन लाग्थ्यो सबै। एकदिन  फादरले पहिलो स-साना नानीहरूले पढ्ने योग्य अक्षर ज्ञानका सजिलो किताब दिए उनलाई। बल्लतल्ल ६ महिनाको अध्ययनले अक्षर चिन्ने भए र‌ शब्द बनाउन सक्नेभए। त्यसपछि भने शब्दहरूले वाक्य बनिन्छ भन्ने ज्ञान पाए। नेपालीमा पढाएका कुराहरू बुझ्नसक्ने भए। फादर ईसाई धर्मालम्वी भएतापनि सन्दुकलाई कहिल्यै धर्म परिबर्तन गर्न लाएनन् उल्टै बौद्ध धर्मको विषयमा सन्दुकलाई धेरै प्रश्नहरू गर्थे। तेसैले पनि सन्दुक फादरलाई सम्मान गर्थे।

शुरुमा उनका लागि पाठहरू अर्थ न बर्थका थिए किनभने ऊनी  न नेपाली न अंग्रेजी जान्दथे र‌ उनी भन्छन्, ‘मलाई सम्झना छ,  म कक्षाको पछाडि कसैले बोलेको एक शब्द नबुझी खालि कपाल कन्याउँदै ट्वाँऽऽऽ परेर बसिरहन्थे। मलाई रुन मन लाग्थ्यो। म आफूलाई एकदम तुच्छ ठान्थे। किताबका अक्षरहरू रङ्ग न ढङ्गका वाङ्गाटिङ्गा धर्साहरु लाग्थ्यो। कसैसँग नबोली बस्थेl’ उनले अक्षर ज्ञान, शब्द ज्ञान पाएपछि स्कूलमा पाइला टेकेको सात महिनापछि शिक्षकहरुले नेपालीमा भनेका बुझ्नसक्ने भएका थिए। त्यति मात्र नभएर हात उठाएर प्रश्न गर्नेपनि भएका थिए। स्कूलमा पहिलो बर्षमा नै सोचेभन्दा बेसी नै प्रगती गरेका थिए। सखारै भन्दापनि बिहानीको ६ बजे उठेर शारिरिक व्यायाम गर्थे र दिनभरि नै फ्रेन्च, ल्याटिन, अंग्रेजी, गणित, भूगोल र इतिहासका पाठहरू पढ्न पर्थ्यो। समयको संकेत घण्टीको आवाजले दिने गर्थ्यो। बिहानीको खाना खाने र खाइसक्ने समयको घण्टी बज्थ्यो अनि रातिको भोजन गर्ने र सुत्ने समय घण्टीले दिन्थ्यो। अनुशासनको नियम कडा थियो भन्छन् सन्दुक रुइत। उनका बाबुआमाले छोराले राम्ररी पढोस् र‌ केही ठूलो काम गरोस्, असल मानिस बनोस् भनेर नै उसलाई दुर्गम हिमाली भेगबाट पैदल हिँडाएर दार्जीलिङ पढ्न पुर्याए। पन्द्रह दिनभन्दा लामो यात्रा, बाटोमा, जङ्गलमा, कहिले गुफामा बास बस्दै कष्टकर यात्रा तय गरेर पनि सेन्ट रोबर्टस स्कूल, दार्जीलिङ पुर्याएर त्यस स्कूलको फादर म्याकेको जिम्मा लगाएर तिब्बती भाषा बाहेक अन्य कुनै भाषा बोल्न नसक्ने सात वर्षीय बालक सन्दुक रुइतलाई एक्लै छोडेर सोनाम वाङ्ग्याल आफ्नो घर ओलाङ्चुङगोला फर्केका थिए। सन्दुकको बाबु आफू नपढेका भयेपनि छोरालाई शिक्षा दिन यति टाढा उनैले रोजेका सेन्ट रोबर्ट्स स्कूल जहाँ वर्षको खर्च १४ डलर लाग्थ्यो जो उनको निम्ति ज्यादै पैसा थियो। दुईवटा चौंरीको मुल्य बराबरको रकम जुराउन गाह्रो थियो। सन्दुक भन्छन्, ‘सेन्ट रोबर्ट्स स्कूल दार्जीलिङको सबैभन्दा किफायती स्कूल थियो तर मेरा आमाबाबुका निम्ति त्यस बखत एकदमै धेरै पैसा थियो।‘

तीन तला भयेको त्यो स्कूलमा भारतको निम्न तथा मध्यमवर्गीय विद्यार्थीहरुको करीब ३०० जनाको जमात थियो। ऊ मात्र बेग्लै अनुहारको घरमा बुनेको लुगा लगाएको सन्दुकलाई त्यस स्कूलका होस्टेल वार्डेन फादर विलियम म्याकेले आफ्नो नीला आँखाले अनौठो पाराले हेरेर मुस्कुराएका‌ थिए भन्छन् सन्दुक। ऊ पनि ट्वाल्ल परेर हेरेको हेरै भएको जनाउँछन्। उनलाई स्कूलमा भएका सबै थोकहरु अनौठो लागेको, कहिल्यै नदेखेका टेबल चौकी श्यामपट बिजुली बत्ती रेडियो हिटर आदि देखेर छक्कै परेका थिए। उनी वाल्ल परेर हेरिरहेका हुन्थे। यस्तो अचम्मको सोझो सरल केटोलाई देख्दा अरूपनि छक्क पर्थे। फादर म्याकेले उनलाई स्कूलको मैदानतिरि घुमाउँदै सुचिकार कहाँ लगेर खैरो प्यन्ट, खैरो सुइटर र रातो सर्टको नाप लिँदा असजिलो भएको अनुभव गरेका थिए भन्छन् उनी।

त्यसपछि उनलाई नजिकैको आवासिय भवनमा उसको कोठमा लगे जहाँ उनले अर्को छह वर्ष बिताउनुपर्ने थियो। त्यस कोठामा साँघुरो खाटै खाटको आठवटा खाट थिए। उनको बाबाले छोरालाई उसकी आमाले बान्किपारेर बनाएकी सिरक र अन्य समान हालेको सानो टिनको बाकस माथिल्लो खाटमा राखिदिए र छोराको छेउमा थचक्क बसेर छोरा! अब म तिमीलाई छोडेर जानेबेला भयो। तिमी असल केटो हुनुपर्छ। मिहिनेतको साथ पढ़, सकेसम्म सारा कुरा पढ, म छिट्टै आउँला।‘ सन्दुकलाई एक्लै बस्न मन थिएन र‌ म यहाँ एक्लै बस्दिनँ भन्ने मन भयो तर भन्न सकेन। यहाँ तिम्रो निम्ति सबै ठीकठाक हुन्छ,  तिम्रो यहाँ राम्रो हेरचाह हुन्छ, म‌ अर्को छुट्टीमा आउने छु भन्दै सम्झाए सोनामले। बाबुले उसलाई अंगालोमा बाँधेर एकक्षणमा उनी ढोकाबाट निस्कन्दा सन्दुकलाई रुन मनलाग्यो, कुदेर बाबालाई समाउने मनभयो तर अरूको सामु बाबालाई लाज होला भनेर खाटको चेपमा बसेर रोए। एउटा बालक सात बर्षे घरदेखि कहिल्यै टाढा नगएको अनि कबिला तिब्बती बाहेक अन्य भाषाको ज्ञान नभएको एक अबोध केटो कति पिर पर्यो होला कति अन्तर पिंढाले पीडित भए होला! मलाई नै यहाँ गाह्रो महसुस भइरहेको छ लेख्दै जाँदा।

डा. सन्दुकको प्रसिद्धी विषयमा धेरथोर बुझ्नसकेकी हुँदा वहाँलाई व्यक्तिगत भेट्ने र आफ्नो आँखा सम्बन्धी जँचाउने प्रवल इच्छा हुँदा गत: जनवरी महिनाको १० ता: २०२४ को‌ दिन भदैनीले डा. सन्दुक रुइतसँग भेट गर्ने अनुमति लिएर मेरो छोरा कुन्दनराज  र‌ मलाई झट्ट काठमाडौं आउनु भनेर बोलाइन्। हामी पनि हवाईमार्ग भएर समयमा नै काठमाडौं  पुग्यौं अनि भदैनी‌ संगम शाहले वहाँको ‘आई क्लिनिक’मा लगिन्। आफ्नो आँखा सम्बन्धी अनि व्यक्तिगत भेट्ने  मेरो प्रबल इच्छा थियो, अवसर पाएँ। आत्मसन्तुष्टि मिल्यो। सरल तर भव्य व्यक्तित्वसँग दर्शनभेट भयो। वहाँको व्यक्तित्व र आँखाको चिकित्सा बिषयमा केही पढेकी थिएँ। वहाँको समाजसेवा बिशेष गरी असक्षम आँखाका रोगीहरुको मोतियाबिन्दुको सूक्ष्म शल्यक्रियाको नि:शुल्क सेवाभावले अभिप्रेरित थिएँ। तेसैले सबैको जानकारीका निमित्त मैले वहाँको विषयमा केही बुझेर  आत्मियजनमा साझा गर्न केही लेख्ने मन भयो। मैले पत्रकार अली ग्रिपरद्वारा लिखित ‘सन्दुक रुइत’ पढेर धेरै जानकारी प्राप्त गर्नसकें साथै फेसबुक अनि  युट्युबबाट पनि धेरै जानकारी बटुल्न सकें साथै वहाँका शुभचिन्तक अनि आँखा जचाउँन आउने व्यक्ति विशेषबाट पनि केही जानकारीहरू  बटुल्न सकें  र यो  जानकारीमूलक लेख सबैलाई फाइदाजनक रहोस् भन्दै अघि बढाउन चाहें। सेन्ट रोबर्ट्स स्कूलमा छह वर्षसम्म अध्ययन गरेपछि भारत-चीन युद्धको कारण स्कूल बन्द गर्ने आदेश आएपछि फादरले सन्दुकलाई लैजाने आदेश हुँदा उनका पिता सोनामले आफ्नो गाउँ नेपाल, हिलेमा लगे। वालुङमा तोमर नदीमा आएको बाढीले सबैको गाउँ घर-जमीन क्षतिग्रस्त बनाएपछि उनीहरु हिलेमा सरेका थिए। त्यहाँ नै एउटा सानो जग्गा लिएर सानो घर बनाएर आफ्नो जीवनलाई दुःखसुख धानिरहेका थिए सोनाम वाङ्ग्याल रुइत।

सन्दुकले पछिबाट पनि दार्जीलिङ सेन्ट रोबर्ट्स स्कूलमा नै अध्ययन गर्ने विचार राखेका थिए तर उनको बाबुले आफ्नो माइलो छोरा लादेन्लालाई दार्जीलिङ बोर्डिङ स्कूलमा पढाउने र सन्दुकलाई काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिएपछि वाध्यता वश घरदेखि चारसय किलोमीटर टाडा होस्टेल बसेर पढ्नु परेको थियो जहाँ सेन्ट रोबर्ट्स स्कूलको होस्टेलको खानाको तुलनामा ज्यादै नमिठो थियो अनि स्वस्थकर थिएन न‌ त आवास व्यवस्थित थियो! र पनि केही त गर्नैपर्छ पढ्नै पर्छ भनेर मेहनतको साथ पढ्न थाले। सेन्ट रोबर्ट्स स्कूलले मनोवल र ‌शारिरिक क्षमता धेरै बलियो बनाइदिएको थियो। उसैपनि यिनीहरू मेहनती जातमा पर्दथे। उनी स्कूलको फोहोर छात्रबासमा बस्थे जहाँ उनलाई विमारीले सताइरहन्थे। सेन्ट रोबर्ट्स स्कूलले उनलाई दह्रो बनाएका थिए, नेपाली र‌ अंग्रेजी बोल्न र‌ लेख्न सक्ने भएका थिए। त्यसबेला उनी  १३ बर्षका भइसकेका थिए र धेरै दुःख सुखका कुराहरू बुझ्ने र आफ्नो परिवारका र गाउँघरका कसैले पनि त्यो तहको शिक्षा लिनसकेका थिएनन् र नै आफू घोटिएर पढाई गर्नपट्टी ध्यान दिने गर्थे। सेन्ट रोबर्ट्स स्कूलबाट विदा दिनेसमयमा फादर म्याकेले सोनामलाई भनेका थिए ‘छोराको पढाई नछुट्याउनु। यो केटाले भविष्यमा केही न केही राम्रो र असल काम गर्नेछ।‘ फादरको यो वाक्यले बाबु सोनामलाई भन्दा छोरालाई उर्जा मिलेको थियो‌ सायद।

हाई स्कूल पुग्दा सन्दुक धेरै परिवर्तित भईसकेका थिए, सधैंको जस्तो उपद्र्याह थिएन, उनको मानसिकता केही गर्नु पर्ला भन्नेतर्फ ढल्किदै थियो। आफ्नो पितापूर्खाले गर्दै आएका व्यापार सम्हाल्न नपरोस् भन्ने सोँच लिएर पढाइप्रति ध्यान दिएको फलस्वरूप आज उनी विश्वप्रसिद्ध आँखा चिकित्सक बने। सन्दुक रुइत घरदेखि टाढा हाईस्कूलमा अध्ययनरत् छँदा दुईवटा दुःखान्त घट्ना घटे। उनकी आठ बर्षकी कान्छी बहिनी चुन्दुक उत्पात ज्वरोले बितिन् जुन अप्रिय घटनाले बाबु सोनाम र आमा केसाङको जीवनमा असह्य बज्रपात भयो। त्यसपछि सन्दुक दशौं श्रेणीमा अध्यनरत छँदा सोनामले पन्द्रह वर्षीया छोरी याङलालाई सन्दुकको स्कूलको नगिचैको महेन्द्र भवन हाई स्कूलमा भर्ना गरिदिनुभयो र दाजुबहिनी एकैसाथ एउटा डेरामा बसेर पढ्नु थाले। बोर्डिङ स्कूलदेखि डेरामा आएपछि बहिनीको हातको खाना खानु पाउँदाको अनुभव , बहिनीको स्नेह र प्रेरणा पाएर मक्ख पर्थे। याङला पनि पढाईमा उत्तिकै मेहनत गर्थी, शिक्षिका हुने सपना थियो तिनको तर स्कूलमा दोस्रो वर्ष टेक्दा न टेक्दै तिनी क्षयरोगले सिकिस्त भइन्। उनलाई काठमाण्डौदेखि दश किलोमिटर टाढाको टोखाको स्यानेटोरियममा उपचारका निम्ति राखियो, उनी औषधीमुलोले निको भएर हिलेमा आफ्नो घरको पसलमा गुनगुनाउँदै काम गर्न थालिन्, तर सोचेको विपरीत उनको तौल फेरि घट्न थाल्यो, उनी डरलाग्दो गरी फुकीढल भइन्। धरानमा बृटिस मेडिकल ट्रस्टले संचालन गरेको अस्पतालमा उपचार गराउन असाध्यै महँगो थियो। सोनामाई घरको सिरिखुरी सम्पती बेच्दा पनि ती औषधी किन्न सकिन्दैन थियो भन्छन् सन्दुक रुइत। त्यसबेला १८ वर्षे सन्दुकले बहिनीको उपचार गर्न सबैको अघि हात फैलाएर मदत् माग्न चाहान्थे तर तिनको त्यो आँट ब्यर्थ गयो। आफ्नो बहिनीको दयनीय अवस्था देखेर पनि केही गर्न नसक्नुको पीडाले धेरै छट्पटिए। सिकिस्त विरामी बहिनीलाई छाडेर एसएलसी परीक्षामा बस्न जानुथियो सन्दुकलाई। नजाउँ त अर्को एकसाल पर्खनुपर्ने र याङलाको अन्तिम शब्दहरू सुनेर भारी मन लिएर हिँडे सन्दुक। बहिनीले शिरमा हात राखेर भनेकी थिइन्, ‘दाजु! मजस्ता मानिसलाई मदत गर्न तिमीले केही न केही गर्नुपर्छ। हो! तिमीले अहिले नै चाँडो भन्दा चाँडो गर्नुपर्छ।‘ बहिनीको यही कुरालाई ध्यानमा राख्दै डाक्टर हुने प्रतिबद्धता लिएर सन्दुक रुइत अघि बढे।  बहिनीको कोठाबाट आफूलाई मुश्किलले निकाले जुन कोठामा बहिनी अन्तिम सास फेर्दै थिइन्।

केही दिनपछि बहिनीको निधनको समाचारले उनलाई  विक्षिप्त तुल्यायो। काश: पैसा भएको भए वा समयमा  कसैबाट सहायता पाउन सकेको भए, समयमा डाक्टरकहाँ लान सकेको भए बहिनी बाँच्ने थिइन् भन्दै गहिरो मानसिक तनावग्रस्त बने सन्दुक। बहिनीलाई समयमा पैसाको अभावमा उचित उपचार उपलब्ध गराउनु नसकेका हुनाले अब मैले चिकित्सा बिषय लिएर नै पढ्नुपर्ने रहेछ भनेर संकल्प गरे भन्छन् उनी। सन्दुक अनि उनका बाबुआमाले जुन आघात सहनुपरेको थियो त्यही आघत अरुले पनि सहनुपरेको थियो। पश्चिमी देशमा जस्तो निको हुने स्वास्थ्य सम्बन्धि कुनै स्वस्थ्य केन्द्र तथा अस्पताल अनि चिकिस्तकहरु थिएनन् त्यैपनि तेस्तो अभेग पिछडिएका गाउँमा। हरेक घरमा एक-दुई जनाको उपचार नपाइ मृत्यु हुनु कुनै लेखान्त नभएर भयानक अन्याय थियो भन्छन् सन्दुक रुइत। उनले सोचेअनुसार त्यो दूर्गम हिमाली भेगको ठिटोले डाक्टरी पढ्नु भनेको आकाशको फल आँखा तरी मर भन्ने उक्ति बराबर थियो। वालुङे कबिला समुदायको कसैले पनि चिकित्सक बन्ने सपना देख्नु भनेको अचम्मको बिषय थियो तर सन्दुकले आफ्नी प्यारी बहिनी याङलाको मृत्युले गहिरो चोठ् सँगसँगै साहसी र आत्माविश्वासी बनाएको थियो। उनको बाबुले पुस्तेनी व्यवसायी सम्हालोस् भन्थे तर‌ सन्दुकलाई कुनैपनि हालतमा डक्टर बन्नु थियो। जसरी तसरी कोलोम्बो प्लानको छात्रवृत्ति विषयमा जानकारी हासिल गरे। यो प्लानअन्तर्गत गरीब र मेघावी भारतीय अनि नेपाली विद्यार्थीहरलाई दिइन्थ्यो र‌ विश्वविद्यालयको शुल्क वैदेशिक सहायताको रकमबाट भुगतान गरिने प्रावधान थियो। सन्दुकको महत्वकांक्षालाई उपमहाद्वीपकै प्रख्यात विश्वविद्यालय जो भारतको लखनउ स्थित ‘किङ् जर्जस मेडिकल युनिभर्सिटीले’ आशाको उज्यालो किरण देखाएका थिए। त्यसबेला एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर अध्धयनरत्‌ थिए र उनले त्यस विश्वविद्यालयमा छात्रवृति पाउने प्राप्त गर्न परीक्षामा बसे। १५० जना भारत र नेपालका जेहेन्दार विद्यार्थी माझ प्रतिस्पर्धी  भएको परीक्षामा आठजना छनौट भएका थिए जसमा सन्दुक पनि एक थिए। छनौट भएपछी सन्दुक उत्तरी भारतको लखनउ शहरमा १९७२ सालमा चिकित्साशास्त्र अध्ययन गर्न गए। त्यसबेला तिनी उन्नाइस वर्षको ठिटो थिए। एउटै अक्षर नचिनेको सात बर्षको बालक चिसो हिमाली भेगमा हुर्किएको दार्जीलिङ सेन्ट रोबर्ट्स स्कूलदेखि काठमाण्डौको सिद्धार्थ वनस्थली स्कूल हाईस्कूल भएर भारतको प्रचण्ड गर्मी हुने सहर लखनऊको ‘किङ जर्जस मेडिकल युनिभर्सिटीमा’ उनले आकाश पातालको फरक पाए। होस्टेलमा उनको कोठा सेतो रंगले पोतिएको सफा अनि अग्लो सिलिङ भयेको, एउटा खाठ, टेबल र कुर्सी साथै पुस्तकहरु राख्ने एउटा सानो आलमिरा थियो। उनका सहपाठी प्रायः मलेसायीहरु थिए भने फाट्टफुट्ट नेपाली अनि भारतीय मूलका सभ्रान्त परिवारका थिए। त्यहाँ पढ्न अरुलाई जतिको अधिकार थियो उत्तिकै हक सन्दुकलाई पनि थियो। हिमाली भेगको नुन व्यापारीको छोरा चिकित्सा शास्त्रको कक्षामा संभ्रान्त परिवारबाट आएका सहपाठीहरूमाझ आफू एकदमै पराया भयेको अनुभव गर्थे। आफू तल्लोस्तरको तल्लो जातको मान्छे भएको कारण कहिले काहिं आफैआफमा असुरक्षितको भावनाले ग्रसित हुन्थे तर मैले केही गर्नुपर्छ, मैले धेरै मेहेनत गर्नुपर्छ भन्ने र आफ्नी उपचार नपाएर मर्न परेकी बहिनी याङलालाई सम्झेर सचेत बन्थे उनी। भारतदेखि बाहिरबाट आएको उनलाई सबैले ‘बाहिरिया’ भनेर खासै महत्त्व दिँदैन थिए, तरपनि उनले केही साथीहरू बनाएका थिए र‌ बेलाबेलामा उनिहरुसँग लखनऊ सहर घुम्न र‌ जान्थे अनि त्यहाँको परिवेश, दोकानहरु देखेर छक्क पर्थे तर त्यस्तो चकाचौध देखेर पनि आफ्नो मन बरालेनन्। उनलाई घरको सम्झनाले नियास्रो बनाएको समय मन भुलाउन नगिचैको नदीकिनारतिर जान्थे अनि मुगलकालीन दरवार र समाधिस्थलको कलात्मक बनावट देखेर ट्वाल्ल परेर हेर्थे। केही बेरपछि मन हल्का पारेर आफ्नो कोठामा अध्ययन गर्न फर्कन्थे।‌ आफ्नो पढाइलाई प्राथमिकता दिइएर नै रुइतले सोचेभन्दा बढ़ी लोकप्रियता हासिल गरे, उनको अध्ययनशीलताको कारण अरु विद्यार्थी पनि उनका नजिक हुनथालेका थिए।

मृत शरीरलाई चिरफार गर्नुपर्ने‌ प्रशिक्षण प्रथम बर्षमा नै रुइतलाई पनि पर्यो। पहिले त‌ मान्छेको मृतशरिरको चिरफार गर्नुपर्ने कुराले नै उनी  निक्कै त्रस्त भएका थिए, उनको भागमा छातीको अघिल्लो भाग परेको थियो, कीटाणुनाशक औषधीको गन्धल झण्डै बेहोश भएको सम्झना गर्छन् उनी।  चिरफार गरेर शल्यक्रिया गर्न सिक्नुपर्दा पहिलोपल्ट त्यो छातीभित्रको मुटु चल्दैछ कि भन्ने लागेको अनुभव बताउँछन् उनी। केही हप्तापछि त उनी  चिरफार गर्ने प्रक्रियामा दक्ष बने। एकदिन सबैले ४५  मिनेटमा सिध्याउन पर्ने डेमो परिक्षामा भित्तामा टाँगिएको पेल्भिक क्याभिटीको एउटा भित्ता शल्यक्रियाको क्रममा कुन भाग के हो कुन हो चिन्हाउदै जानुपर्ने काम कुनै गल्ति नगरी १० मिनेट अघिबाटै सकेछन्। सबैलाई जितेर उनले विश्वविद्यालयको स्वर्ण पदक प्राप्त गर्न सफल बने जुन उनको जीवनको पहिलो सबैभन्दा उत्कृष्ठता हासिल गरेको र‌ खुशीको दिन थियो। त्यसपछि त चिकित्सकको प्रमाणपत्र प्राप्त गर्न रातोदिन अध्ययनमा लागे, सबै विषयवस्तु अंग्रेजीमा पढाइने‌ हुँदा उनले रिडर्स डाईजेस्ट र अन्य अंग्रेजी पुस्तकहरु खोजीखोजी पढ्न थाले।

सन् १९७८ सालमा किङ् जर्जस मेडिकल युनिभर्सिटीको प्रेक्षालयमा चिकित्सा शास्त्रको स्नातकोत्तर प्रमाणपत्रको दीक्षान्त-समारोहमा सबैका आआफ्ना अभिभावकहरुको उपस्थिति थियो तर‌ सन्दुक रुइतको भने टाढाका भएर कोहिपनि थिएनन्। भव्य समारोहका बीच सन्दुक रुइतले पनि सनातनी प्राज्ञिक पोशाक र टोली लाएर आफ्नो सम्मान प्रमाण-पत्र थापे पछि एक्लै स्वदेश फर्के आफ्नो दिवंगत प्रियजनको सम्झना गर्दै। विशेष उनी बहिनी याङलाको यादले व्यथित थिए जसको मृत्यु नै उनलाई डक्टर बन्न प्रोत्साहित गरेको थियो। चिकित्सकीय शास्त्रको डिग्री लिएर उनी काठमाडौँ वीर अस्पतालमा कान्छो चिकिस्तक (जुनियर डाक्टर) हुँदा उनलाई खासै महत्त्व दिइएन। उनले सबैभन्दा तल्लो तहदेखि काम शुरु गरे, प्रत्येक दुई महिनामा ठाउँ तथा विभाग सर्नुपर्ने अनि सिनियर डक्टरले शल्यक्रियाको प्रयोगमा चलाइने रिट्रयाकटर भन्ने धातुको समान समाउन पर्ने यदि समाउँदा गल्ती भएमा सिनियर डक्टरले हातैमा हिर्काउने, गाली दिने जस्ता सहेर आफ्नो काम गरेर केही समयमा नै उनले चिकित्सकको रुपमा प्रतिभा हासिल गरे। त्यसपछि त उनलाई नेपाल र चीनको स्वास्थ्य सर्वेक्षण गर्ने टोली लिएर उनकै गाउँ बालुङ र छेवछावको गाउँ जाने अवसर मिल्यो जहाँ उनले पेटको रोगले ग्रसित एउटा चारवर्षे बालक र अन्य धेरैको उपचार गरेर बचाए। गाउँवासीमा खुशीको लहर छायो साथै डा. सन्दुक रुइत धेरै प्रसन्न भए‌ र उनले मर्दै गरेकी बहिनी याङलाले  हात समाएर भनेकी शब्दहरूको सम्झना गरे ‘हो! बहिनी तिमीले भनेकी काम मैले गर्नुपर्ने यही हो।‘

त्यसपछि फेरि डा. सन्दुक रुइतलाई एउटा महत्वपूर्ण कदम उठाउने मौका मिल्यो। उनलाई आँखाको चिकित्सा  विभागमा सामेल गराएर त्यो टोलीसँग दुर्गम पहाडी भेगमा गराइने शल्यक्रिया शिविरहरूमा जानुपर्ने भयो अनि त्यहाँ पुग्न टोली स्वयंले शल्यक्रियाको सरसमानहरु ट्रक वा बसमा हालेर अति दुर्गममा क्षेत्रका पुराना स्कूलका कोठामा वा  गुम्बामा शिविर लगाई धेरै टाढा टाढाबाट आएका आँखा रोगीहरु जो प्राय: नब्बे प्रतिशतभन्दा बढि अन्धो भइसकेका हुन्थे उनिहरु आफ्ना प्रियजन देख्ने आशाले आएका हुन्थे। देशभरका कुल जनसंख्यामा ०.८ प्रतिशत मानिसहरु अन्धोपनका शिकार बनिसकेका थिए जसमा ०.४ प्रतिशत मोतियाबिन्दुको सही तरिकाले शल्यक्रिया नभयेको कारण बिग्रेका थिए भन्ने कुरा पत्तो लाए। यहीं कारणले परिवारमा थपमाथि थप समस्याहरुले जडा गाडिएको थियो र‌ जस्को मार्मिक असर डा. रुइतलाई परेको थियो भन्छन् उनी। आँखा चिकित्सक टोलीसँगको सहभागितामा उनले धेरै कुरा सिक्ने र देशमा भयेको मोतियाबिन्दुको रोगीहरूको अवस्था देखेर ‘अब मैले आँखा सम्बन्धी चिकित्सा शास्त्रको अध्ययन गर्नुपर्छ, किनकि आँखाको ज्योती फर्काउनेउनु नै नेत्रदान गर्नु हो अनि नेत्रदान जीवन दान बराबर हो’। उनले नेत्र चिकित्सकको पोष्टग्र्याजुएट डिग्रीको निम्ति भारतमा छात्रावृत्ति दिन लागेको कुरा सुने र परीक्षा दिए, छनौट भएपछि  उनले उत्तरी भारतको अल‌ इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा छात्रवृति अन्तर्गत भर्ना पाए। प्रत्येक साल ७० (सत्तर) सीटको निम्ति करीव ७५ हजार प्रतिस्पर्धीहरू माझ कडा प्रतिस्पर्धा हुन्थ्यो। १९८० सालमा ७० जनामध्ये एक हुनु बडो गर्वको विषय थियो डा. सन्दुकको निम्ति। तिनले बडो मेहनतको साथ आँखा सम्बन्धित नेत्र चिकित्सकको डिग्री हासिल गर्नलाई प्रयोगको निम्ति राखिएका बाँदरहरूमाथि लामोसमयसम्म शोधकार्य गरेर सुक्ष्म शल्यक्रियाको दक्षता हासिल गर्न सफल भएका थिए।उनी भन्छन् बाँदरहरूको आँखामा प्रयोग गर्दै धेरै समय बिताएर नै माइक्रसर्जरीमा यतिको दक्षता प्राप्त गर्न सकेको हुँ र आज लाखौँ मानिसले यसबाट लाभान्वित भएका छन्। सुक्ष्म शल्यक्रिया वा माइक्रोशर्जरी गरेको केही दिनमा बिरामी पढ्न, लेख्न वा काम गर्न सक्थ्यो साथै पुरानो पद्धतिद्वारा गर्दापछि लगाउनपर्ने मोटो चश्मालाई विदा दिइएको थियो।

अल इण्डिया मेडिकल साइन्सका एकजना बरिष्ठ शल्य चिकिस्तक प्रोफेसर मन मोहनले रुइतलाई आँखा एउटा कोमल अनि मिहिन अंग हुनाले एकदमै होसियारी अपनाउनुपर्ने सावधानी लिनुपर्ने बिषयमा ज्ञान दिए अनि बिरामीलाई राम्रो सम्बोधन गर्दै माया गर्दै उनीहरुको मनोबल बढाउने कोशिस गर्नुपर्छ भनेर आँखासँग प्रेम गर्न सिकाउनुभयो, उहाँप्रति सदैव आभारी रहेकोछु भन्नुहुन्छ डा. सन्दुक रुइत। उनले अल इण्डिया मेडिकल साइन्स, दिल्लीको उच्च स्नातकको डिग्री परीक्षामा सिंङ्गो व्याजमा दोस्रो स्थान ओगट्न सफल बने। उनका समकक्षी साथीहरुले बधाई दिँदै हर्षोल्लास मनाएका थिए। नेत्र चिकित्सकको डिग्री लिएर ठूलो छाती बनाएर उनी स्वदेश फर्के।

 एक दक्ष नेत्र शल्य चिकिस्तकको डिग्री लिएर स्वदेश फर्केपछि पनि उनले शुरुआती पेशागत जीवनमा धेर चुनौतीपूर्ण कठिनाइको सामना गर्नुपरेको थियो। यद्यपि उनले अठोट प्रतिवद्ताको साथ मोतिविन्दुको सुक्ष्म शल्यक्रियाको प्रविधीको जग बसालेर नै आज यस मुकाममा पुग्न र एक लाख अस्सी हजारभन्दा बढीको सुक्ष्म शल्यक्रियाको प्रयोयले विभिन्न दुर्गम पहाडी भेगका गरीब जनताको आँखामा नयाँ ज्योति दिएका छन्। उनको व्यक्तिगत जीवनका विषयमा भन्नुपर्दा उनले २६ जनवरी १९८७ मा समाजले मानेका तथाकथित उच्च जाति मानिने नेवार समुदायको छोरी र आफू समाजले मानेका तथाकथित तल्लो जातको युवकले प्रेम विवाह गरेका थिए तर दुवै परिवारबाट स्वीकृत भएन। उनीहरू काठमाण्डौमा नै बसिरहनु नमिल्ने हुँदा भाग्यले नै भनौ एम्स्टर्डम शहरको हार्लेम भन्ने ठाउँमा पुगे। एम्स्टर्डमको एउटा ठूलो मेडिकल अस्पतालको सेन्टरमा नेत्र चिकित्सकको काम पाएर दुवै नवदम्पती

घरपरिवारलाई कुनै सुचना नदिई पुगे भन्छन् डा. सन्दुक रुइत। त्यसबेला उनिहरुसँग फुटेको कौडीसम्म थिएन र उनको एक मित्र जोन कोकले संरक्षण दिएका थिए। त्यहाँ उनले वरिष्ठ डच डाक्टरहरुको सान्निध्यमा बसेर बिरामी जाँच्ने उत्तम र आधुनिक तरिकाको गहनरुपले अध्ययन गरे अनि अत्याधुनिक उपकरणहरुको प्रयोगमा आफैलाई  परिमार्जन गर्न सफल बने। उनीहरूको त्यहाँको बसाई अवधि सकिनप्रेरक लागेको र स्वदेश फर्कनु पर्ने तर फर्कनु प्रेम र भागी विवाहको कारण अफ्ठ्यारो स्थिती थियो। फेरि सन्दुकको जीवनमा अर्को मोडले प्रवेश गर्यो।नेपाल आँखा अस्पतालमा छँदा उनको  अष्ट्रेलियाको एक प्रख्यात नेत्र विशेषज्ञ डा. फ्रेड हलोजसँग मित्रता गाँसिएको थियो। उनले आफ्नो समस्या बताएपछि डा०  फ्रेड हलोजले उनीहरुलाई अष्ट्रेलिया बोलाएर समस्याको समाधान गरिदिए। उनिहरूलाई आफूसँगै आफ्नो फारमान हाउसमा लगेर राखे हलोज र उनकी श्रीमती गाबीले। प्रत्येक दिन हिँडेर १५ मिनेटको  दुरीमा पर्ने प्रिन्स अव वेल्स अस्पतालमा गएर उपकरणको प्रयोग गर्दै इन्ट्राअकुलर लेन्स सर्जरीको अध्ययन र अभ्यास गर्दै र चाँडै निपुण बन्न सफल भएका थिए। फ्रेड हलोज उनको प्रेरणादायक स्रोत थिए, उनी भन्छन् ‌फ्रेड नभएको भए आज उनी एक साधारण चिकिस्ताक मात्र हुनेथिए।

अष्ट्रेलियाको एकबर्षे अध्ययन पुरा गरेर स्वदेश फर्केपछि उनले नेपाल आँखा अस्पतालमा आफूले सिकेर आएको नयाँ पद्धतिद्वारा मोतियाबिन्दुको सुक्ष्म शल्यक्रियालाई अघि बढाउन खोजे तर उनलाई कुनैपनि बरिष्ठ डाक्टरहरूले सहयोग गरेनन् उल्टै यो महङ्गो पद्वती यहाँ प्रयोगमा ल्याउन सकिन्न भनेर हाँसोको पात्रो बनाए। यस अस्पतालमा आफूले कति परिश्रम गरेर अध्धयन र‌ अभ्यास गरेको फलदायी चिकित्सा प्रणालीलाई सही मुल्यांकन दिन उनले आँखा अस्पतालबाट विदा लिए अनि छुट्टै एउटा अस्पताल खोल्ने निर्णय लिएर एउटा दक्ष चिकित्सकहरुको गुठी तयार पारी सायद १९९४ को‌  जुन महिनामा  तिलगंगा आँखा प्रतिष्ठान स्थापित भएको हो जहाँ आज आँखाको विभिन्न रोगसँग सम्बन्धित वरिष्ठ वरिष्ठ दक्ष नेत्र चिकित्सकहरु छन्। समय र मांग अनुसार तिलगंगाका डा. सन्दुक रुइतसँग चिकिस्तक टोली विभिन्न दुर्गम  भेगमा जान्छन् र गरीब मानिसहरूलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेर संसार देखाउने गर्छन्।

उनको यहि सेवाको कारण देशबिदेशको विभिन्न उच्च पुरस्कारले विभुषित भएका छन्: जस्तै सन् २०१८ मा प्रधानमन्त्री प्रतिभा राष्ट्रीय पुरस्कार,

२०१८ सालमा भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

२००६ सालमा फिलिपिन्स रोमन म्यागासेसे पुरस्कार अनि

सन् २००६ मा नै थाइल्याण्डको प्रिन्स मोडलस अनि रिडर्स डाईजेस्ट अल्बर्ट आइन्स्टाइन पुरस्कारले पुरस्कृत भएका थिए।

भूटानको नेशनल पुरस्कार,

२०२३ कै जनवरीमा बाहरेणको प्रतिष्ठित इसा पुरस्कार जसमा नेपाली १३ करोड रुपियाँ सामेल थियो।

यी बाहेक उनी अन्य धेरै पुरस्कारले विभूषित भइसक्नु भएको छ। उहाँ एक कठोर परिश्रमी र  संकल्प लिएपछि पर्वत पनि सार्नुसक्ने हिम्मत भएको अदम्य साहसी व्यक्तित्व हुनुहुन्छ जसको शिक्षाको उद्गमस्थल दार्जीलिङ हो। सेन्ट रोबर्ट्स स्कूलमा उहाँलाई दरिलो बनाउने र दिशानिर्देश दिनुहुने फादर म्याकेलाई सम्झनामा राखिनुपर्छ जस्तो म अनुभव गर्दछु। अनि उनको नेत्र चिकित्सकको विशेषज्ञ बन्नुमा प्रेरणादायक अष्ट्रेलियन डा०  फ्रेड हलोजलाई उहाँ कहिल्यै बिर्सनु हुने छैनन्। उहाँसित याने डा. रुइतसँग मेरो भेट उहाँको नागपोखरी स्थित  आई क्लिनिकमा भएको हो। उहाँले मेरो आँखाको स्थिति हेरेर ‘तपाईको केस सम्बन्धी अरु वरिष्ठ चिकित्सकसँग परामर्श लिनुपर्ने रहेछ र‌ बुधबार १२ ता: जनवरी तिलगंगा अस्पतालमा दिउँसो ११ बजे  २०३ च्याम्बरमा उपस्थित हुनु’ भन्नुभयो र त्यो दिन समयमा नै गयौं। सौहार्दपूर्ण वातावरणमा मलाई अलग्गैको कोठामा बस्न दिए। स्वच्छ परिवेश, स्वच्छ अनि सौहार्दपूर्ण वातावरणमा केही समय बिताएपछि मलाई उहाँले रेटिना विशेषज्ञ डा. गोविन्द कहाँ पठाउनुभयो। आँखाको प्रेसर अनि स्क्यान पछि फेरि परिक्षण भयो अनि तपाईंको आँखामा पहिले बाटै धेरै सुई ‌र शल्यक्रिया भएको कारण अब उसो केही गर्नु आवश्यक देखिएन भने। यो दुईवटा औषधी एकुलरिस र रिफ्रेसर दिनको तीनपल्ट अनिवार्य रूपमा लाउने अनि सुगरलाई नियन्त्रणमा राख्ने सल्लाह दिनुभयो जुन सल्लाह विर्तामोड आँखा अस्पतालको अधिकृत डा.  राजेश प्रधानले पनि दिनुभएको थियो।‌ म ढुक्क भएर फर्किएँ। उहाँलाई नेपालमा मात्र होइन विश्वमा नै लाखौ‌ अन्धोपन भएका मानिसहरुको ज्योति वापस ल्याइदिएको हुँदा ‘आँखाको देवता’ भनिन्छन्। उनको  तिलगंगा अस्पतालमा रुइत्येकटोमी नाम दिएर इन्ट्राअकुलर लेन्स तयार गरिन्छ अनि देश अनि विदेशमा व्यापकरूपमा प्रयोग हुन्छ।

तिलगंगा आँखा अस्पताल पशुपतिनाथ मन्दिरको दाहिने बगलमा बागमती पुल नजिकै पर्दछ। उहाँलाई भेट्न गाह्रो पर्छ कारण आँखाको चिकित्सा-सेवाको टोली लिएर दुर्गम क्षेत्रहरुमा गई रहनुहुनु हुँदारहेछन्। ‌ अस्पतालमा उहाँको अन्य नेत्र चिकित्सकहरु उत्तिकै पोख्त रहेकाले कुनै असुविधा भने नभएको अनुभव गर्नसकेकी छु। अ,आ,क,ख, र ए, बी, सी,डीसम्म नचिकेका , आफ्नो लेकाली तिब्बती भाषा बाहेक अरू कुनै भाषा नजान्ने सात वर्षीय ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका केटो सन्दुक रुइत हाम्रो दार्जीलिङको सेन्ट रोबर्ट्स स्कूलमा प्राथमिक शिक्षा आर्जन गरेर आज विश्वविख्यात नेत्र चिकित्सक जसलाई ‘आँखाका देवता’ मानिन्छ उहाँलाई गर्वको साथ नमन् गर्दछु।

अस्तु!    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement