अलिपुरद्वार: पश्चिम बंगालमा मनसुन अझै आइसकेको छैन, मनसुन आउन ढिलाइ भएको छ, तर प्रि-मनसुन वर्षाले कहर निम्त्याउन थालिसकेको छ। भारत–भुटान सीमावर्ती अलिपुरद्वार जिल्लाको जयगाउँमा मंगलबार दिनरात परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ।

गोबरजादी खोलाको तीव्र बहावले जयगाउँको खोलाबस्ती क्षेत्रमा मध्यद्वार जाने सडक बगाएको छ। यति मात्र होइन जयगाउँ जाने बिबारी क्षेत्रमा रहेको गोबरजादी खोलाको पुलमा ठूलो दरार परेको छ। भुटानको सीमा क्षेत्रमा पर्ने जयगाउँको राई गाउँमा पानी पसेको छ। भुटानको हिमाली खोलाबाट आएको माटो र पानी घरघरमा पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ। स्थानीयवासीले स्थानीय प्रशासनलाई सहयोगको अपिल गरेका छन्। मनसुन अझै नआएको प्रष्ट छ, तर त्यसअघि नै डुअर्समा विनाश शुरु भइसकेको छ।
