नाम्ची: वर्ष २०३० सम्ममा महिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने’ नाराका साथ आज विश्व महिनावारी स्वच्छता दिवस २०२४ पीएम कन्या उच्चतर माध्यमिक विद्यालयमा पालन गरियो।
कार्यक्रममा शिक्षा विभागका संयुक्त निर्देशक जीपी शर्मा मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने उनको साथमा सुलभ सेनिटेशन क्लबका प्रमुख संयोजक रूपक रोय चौधरी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त निर्देशक जीपी शर्माले यस प्रकारको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी प्रकट गरे। उनले कार्यक्रमको महत्व प्रतिबिम्बित गर्दै समाजमा महिलाको अत्यावश्यक भूमिकाको बारेमा जानकारी दिए। उनले विद्यार्थीहरूलाई एकअर्कालाई सहयोग गर्न र सम्मानजनक जीवन बिताउन प्रोत्साहित गरे।
सोही क्रममा बन्दना राईले महिनावारी सरसफाईको बारेमा जानकारी दिँदै यसबारे सबैलाई आवाज उठाउन र सचेतना जगाउन आग्रह गरिन्। उनले विद्यालयमा यस्ता कार्यक्रमलाई समर्थन गरेकोमा रुपक राय चौधरीको प्रशंसा गरिन्। उनले थपिन् कि सरसफाइ कायम राख्नु व्यक्तिको जीवनको एक महत्त्वपूर्ण कारक हो र महिनावारीको समयमा धेरै महिला साथै किशोरीहरूले सामना गर्ने चुनौतीहरूबारे पनि अवगत गराइन्।
यसरी नै रुपक रोय चौधरीले आफ्नो सम्बोधनमा पूर्वाधार सहयोगका साथसाथै विद्यार्थीको मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने र सरसफाई सुविधामा सुधार ल्याउनमा केन्द्रित रहेकोले क्लबले अहिलेसम्म हासिल गरेके उपलब्धिबारे जानकारी गराए। उनले यो दूरदर्शी कार्यक्रम सिक्किमका ११ सरकारी विद्यालयहरूमा आयोजना गरिने निर्णय लिएको बताए।
उनले थप जानकारी गराए अनुसार आगामी १४ नोभेम्बरको दिन नयाँ दिल्लीमा ‘विश्व शौचालय दिवस’ को लागि सिक्किमको प्रतिनिधित्व गर्न १० जना किशोरी विद्यार्थीहरू चयन गरिनेछ। त्यसैगरी कार्यक्रमलाई सफल बनाउन विद्यार्थीहरुलाई उत्साहका साथ सहभागी हुन समेत उनले आग्रह गरे।










