इम्फाल: मणिपुर पुलिसले मंगलबार इम्फाल पश्चिम जिल्लामा छापा मारेर प्रतिबन्धित रेभोल्ल्युसनरी पीपुल्स फ्रन्ट (आरपीएफ) को सशस्त्र शाखा पीपुल्स लिबरेशन आर्मी (पीएलए) का ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट केही हतियार, गोली, मोबाइल फोन र एउटा जिप्सी गाडी बरामद भएको पुलिसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका कार्यकर्ताको उमेर २४ देखि ४९ वर्षसम्म रहेको छ। इम्फाल पश्चिम जिल्लाको लमसाङ पुलिस चौकी अन्तर्गतको लमसाङ गाउँको एक क्षेत्रमा प्रतिबन्धित संगठन पीएलए/आरपीएफका केही कार्यकर्ता शरण लिएको सूचना पाएपछि पुलिसले मंगलबार बिहान करिब ७ बजे अप्रेसन गरेको थियो। करिब तीन घण्टासम्म चलेको खोजी कार्यमा संगठनका ६ जना कार्यकर्तालाई पक्राउ गरी एक थान म्यागजिनसहितको ९ एमएमको पेस्तोल, एक म्यागजिनसहित ३२ वटा पेस्तोल, १६ वटा खरखजाना, आठ थान मोबाइल र एउटा जिप्सी गाडी बरामद गरिएको थियो। उनीहरुको पहिचान नन्दिबम ओपेन्द्रो सिंह उर्फ ऋषिकान्त (४९), यामखाइबाम राकेश सिंह उर्फ पुरी (३२), नगंगम लखन सिंह उर्फ नानाओ (२४), वाङ्खेम रतन सिंह (४७), हेसनम देबेन सिंह (४१) र मोइबुङखोङबाम बिनु मेइती (४१) रहेको छ। पक्राउ परेकाहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि लमसाङ पुलिस चौकीमा बुझाइएको विज्ञप्तिमा उल्लेख छ।