चेन्नई: भारतका पूर्व ओपनिंग ब्याटर गौतम गम्भीर इण्डियन प्रीमियर लीग (आईपीएल)-मा क्रिकेटको गुणवत्तासँग प्रभावित छन् तर फ्रेञ्चाइजी आधारित टी२० लीग युवाहरूका निम्ति भारतीय टीममा प्रवेश गर्ने मार्ग बनोस् भन्ने पनि उनी चाहँदैनन्। दिग्गज स्पिनर रविचन्द्रन अश्विनसँग कुराकानीको क्रममा गम्भीरले भने, अहिले कतिजना युवा भारतको निम्ति टेस्ट क्रिकेट खेल्न चाहन्छन् भन्ने मेरो निम्ति चिन्ताको विषय रहेको छ। आईपीएल भारतको निम्ति खेल्न शर्टकट (सजिलो बाटो) साबित नहुने मलाई आशा छ। कलकत्ता नाइट राइडर्स (केकेआर)-का मेण्टोरले आईपीएल-ले भारतीय क्रिकेटरहरूलाई फाइदा भएको स्वीकार गरे। उनले भने, अहिले अन्तर्राष्ट्रिय टी२० क्रिकेटमा भारतलाई २-३ वटा टीमलाई छोड़ेर अन्य टीमहरूले चुनौती दिन सक्दैन। यो गत केही सालदेखि चलिरहेको छ। धेरै टीमहरूले भारतीय टीमको मजबूतीको बराबरी गर्न सक्दैन। मेरो विचारमा अहिले आईपीएल अन्तर्राष्ट्रिय टी२० क्रिकेटको तुलनामा धेरै प्रतिस्पर्धी भएको छ। यसबाहेक हाम्रा घरेलु क्रिकेटरहरूका स्तर पनि बढ़ेको छ। अहिले युवाहरू आईपीएल र अन्य टी२० प्रतियोगिताहरूमा खेल्न तयार रहन्छन्। यसले गर्दा मलाई उनीहरूका ध्यान टी२० क्रिकेटमा अधिक रहेको जस्तो लाग्छ।
भारतलाई २०११ वनडे वर्ल्ड कपको फाइनलमा आफ्नो असाधारण ब्याटिंगद्वारा जीत दिलाउने गम्भीरको कप्तानीमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले २०१२ र २०१४-मा आईपीएल खिताब जितेको थियो। उनकै मार्गदर्शनमा केकेआर-ले यस सीजनमा पनि पहिलो टीमको रूपमा प्लेअफ्-को निम्ति क्वालीफाई गऱ्यो। गम्भीरको मार्गदर्शनमा केकेआर-ले यस सीजनमा गरेको लगभग हरेक प्रयोग नै सफल साबित भयो। गम्भीरले एकपल्ट फेरि सुनिल नारिनलाई ओपनरको रूमा प्रयोग गरे, जुन सफल साबित भयो। नारिनले आफ्नो विध्वंशी ब्याटिंगद्वारा टीमलाई धेरैपल्ट आक्रामक शुरुवात दिलाएका छन्। उनले यस सीजनमा आफ्नो आईपीएल करियरको पहिलो शतक पनि बनाए। गम्भीर यस साल केकेआर च्याम्पियन बन्ने विषयमा पनि आशावादी छन्। उनले भने, हामीले नयाँ केही गर्नु पर्ने छैन। टीमले एकजुट भएर मैदानमा आफ्नो शत प्रतिशत दिए अवश्यै च्याम्पियन बन्नेछौं।