मोरङको बेलबारीमा ससुरा र बुहारीमाथि कालो मोसो दलियो

IMG-20240519-WA0063.jpg

झापा: मोरङको बेलबारीमा एक परिवारका ससुरा र बुहारीमाथि कालो मोसो दलेका छन। सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गमा मोसो दलिएको हो। सुनसरीको धरान उपमहानगरपालिका -१२ घर भइ हाल बेलबारी -११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय विष्ट थरका एक पुरुष र उनकी ३७ वर्षीया बुहारीलाई स्थानीयले कालो मोसो दलेको पुलिसले जनाएको छ। सुम्निमा चोकबाट जुराहतर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो। विवादकै क्रममा कालो मोसो दलेर ससुरा र बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ पुलिस प्रमुख एसपी नवराज कार्कीले बताए। कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो ।विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ। निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका छन्। जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन। सो सडक निर्माण तत्काललाई अगाडि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले अप्रिल १८मा आदेश दिएको थियो।अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए। उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे। त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको पुलिसले जनाएको छ ।विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालो मोसो दलेको एसपी कार्कीले बताए। कालो मोसो दलेको घटनामा संलग्न भएको आरोपमा पुलिसले पाँचजना स्थानीयलाई पक्राउ गरेको छ। घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेकाले खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement