नेपाली संस्कृति परिषदद्वारा विशिष्ट व्यक्तिहरुद्वारा भानुभक्त आचार्य सम्मान पुरस्कारले सम्मानित

01-IMG-20220808-WA0226


सिलगढी: नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि काम गर्दै आएको संगठन नेपाली संस्कृति परिषदले नेपाली समाजका लागि उल्लेखनीय काम गरेका व्यक्तित्वहरुलाई भानुभक्त आचार्य सम्मान पुरस्कारले सम्मानित गरेको छ।  आइतबार दिल्लीको कश्मिरी गेटस्थित महाराजा अग्रसेन पार्कमा नेपाली संस्कृति परिषद र भारत तिब्बत सहयोग मंचद्वारा आयोजित तिरंगा उत्सव, भानु सम्मान एवं रक्षा बन्धन कार्यक्रममा इन्दौरका सांसद शंकर लालवानीलाई भानुभक्त आचार्य नेपाली मित्र पुरस्कार २०२२ र युवा कवि हर्कबहादुर लामगादे रोहितलाई भानुभक्त आचार्य साहित्य पुरस्कार २०२२ ले सम्मानित गरिएको हो।

दुवैजनालाई राष्ट्रिय स्वयम् सेवक संघका वरिष्ठ प्रचारक इन्द्रेश कुमारले पुरस्कार प्रदान गर्नु भएको थियो। इन्दौरका लोकप्रिय सांसद शंकर लालवानीले मध्य प्रदेशमा बस्ने नेपाली समाजका लागि रातदिन नभनेर काम गर्नुका साथै कोरोना कालमा नेपालीहरुलाई खाद्यान्न सहयोग, परिवारका सदस्य गुमाएकालाई आर्थिक सहयोग गर्नुका साथै उनीहरुलाई भैपरी आउने समस्याको समाधानका लागि सँधै सहयोग गर्दै आउनु भएकाले भानु मित्र पुरस्कार प्रदान गरिएको नेपाली संस्कृती परिषदका राष्ट्रिय सचिव शैलेश गुरुङले बताए।

त्यसैगरी हर्कबहादुर लामगादे रोहितलाई राजधानी दिल्लीमा रहेर नेपाली साहित्य मार्फत भाषा साहित्यको विकासमा निरन्तर कलम चलाइरहेकोले भानु साहित्य पुरस्कार प्रदान गरिएको संस्थाका सदस्य पिताम्बर सुवेदीले बताए। उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा छापिएका छन भने कविता संग्रह मन बल्झिन्छ बजारमा आइसकेको छl कार्यक्रममा नेपाली संस्कृति परिषदका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले संक्षेपमा भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै उहाँले रामायणको अनुवाद गरि नेपाल र भारतको सम्बन्धलाई मजबुत गरेको  बताउनु भयो। राम-सीताको समबन्धले नेपाल-भारतको सम्बन्धलाई थप प्रगाढ गर्ने भएकाले रामयण मार्फत भानुभक्तले सम्बन्ध मजबुत गर्ने काम गरेको बताए।

समारोहमा बोल्दै आरएसएसका वरिष्ठ प्रचारक इन्द्रेश कुमारले आजादीका अमृत महोत्सव अन्तरगत हर घर तिरंगा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे। उनले भारत आजको स्थितिसम्म पुग्न कयौं चुनौतीको सामना गर्दै आजको स्थितिमा पुगेकाले आजादीको ७५औं वर्षगाँठलाई उत्सवका रुपमा मनाउनुपर्ने बताए। कार्यक्रममा नेपाली संस्कृति परिषदका तर्फबाट सृष्टि अधिकारीले नृत्य र अर्णवी चैरसियाले नृत्य एवं कविता प्रस्तुत गरेका थिए भने भारत तिब्बत सहयोग मंचले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

About Author

Advertisement