वेष्ट इण्डिजको दुर्दशाः टी२० सीरीजमा भारत ४-१-ले विजयी

IMG-20220808-WA0152.jpg

८ अगस्तः भारतले फ्लोरिडाको सेण्ट्रल ब्रोवार्ड पार्कमा खेलिएको पाँचौं तथा अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याचमा वेष्ट इण्डिजलाई ८८ रनको ठूलो अन्तरले पराजित गरी टी२० सीरीज ४-१-ले आफ्नो नाम गऱ्यो। रोहित शर्माको अनुपस्थितिमा भारत हार्दिक पाण्ड्याको कप्तानीमा खेल्न ओर्लिएको थियो। भारतले पहिला ब्याटिंग गर्दै श्रेयस अय्यरको ६४ रन अनि अन्तिम ओभरहरूमा कप्तान हार्दिकले महत्त्वपूर्ण योगदानको सहायताले २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण स्कोर बनायो। जवाफमा वेष्ट इण्डिजको टीम १५.४ ओभरमा केवल १०० रन बनाएर अलआउट भयो। वेष्ट इण्डिजको ईनिंग्समा जम्मै १० विकेट भारती स्पिनरहरूले हासिल गरे। यसमा रवि विश्नोईले ४ विकेट लिए। यसबाहेक अक्षर पटेल र टीममा फर्किने कुलदीप यादवले ३-३ विकेट हासिल गरे। कप्तान रोहितको अनुपस्थितिमा श्रेयस अय्यर र ईशान किशनले ओपनिंग गरे। यसमा श्रेयसले शुरुदेखि नै आक्रामक ब्याटिंग गरे पनि ईशान धीमा शुरुवातपछि ११ रन बनाएर आउट भए। यसरी ३८ रनमा पहिलो विकेटको पतनपछि श्रेयसले दीपक हूडा (३८ रन)-सँग दोस्रो विकेटको निम्ति ७५ रनको साझेदारी गरे। त्यसपछि भारतले लगातार अन्तरालमा हूडा, श्रेयस, सञ्जु सेमसन (१५) र दिनेश कार्तिक (१२)-लाई गुमाए पनि हार्दिकले १६ बलमा २८ रन बनाएर भारतलाई असल स्कोरसम्म पुऱ्याए। हार्दिकले २ वटा छक्का र २ वटा चौका लगाए। वेष्ट इण्डिजका बलरहरूमा ओडियन स्मिथले सर्वाधिक ३ विकेट लिए।

जवाफमा वेष्ट इण्डिजको शुरुवात नै खराब रह्यो अनि अक्षर पटेलले जेसन होल्डर (०)-लाई पहिलो ओभरमै बोल्ड गरे। त्यसपछि एकमात्र शिमरोन हेटमायरले भारतीय बलरहरू समक्ष चुनौती पेश गर्न सके। क्यारेबियन टीमका अन्य सबै आउने र जाने मात्र भए। हेटमायरले ४ वटा छक्का र ५ वटा चौकाको सहायताले ३५ बलमा ५६ रन बनाए। अन्य ब्याटरहरूमा शामराह ब्रुक्स १३, डेवोन थोमस १०, कप्तान निकोलस पूरन र रोवम्यान पावेल ९ रन बनाएर आउट भए। भारतका युवा पेसर अर्शदीप सिंहलाई प्लेयर अव् द सीरीज चयन गरियो। उनले सीरीजमा ७ विकेट लिए। यसबाहेक अक्षर पटेलले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *