“म शिक्षा व्यवस्थालाई रूपान्तरण गर्नु चाहन्छु”: अनित थापा
खरसाङ: रामकृष्ण उच्चतर माध्यमिक विद्यालयले एउटा समारोह बीच जी टी ए प्रमुख कार्यपाल अनित थापालाई सम्मान जनायो। स्कुल हलमा आयोजित समारोहमा स्कूलका विद्यार्थी अनि शिक्षिका/ शिक्षकहरूको उपस्थिति थियो।
अनित थापाले आफ्नो सम्बोधनमा भने, ” शिक्षा पहाडको ठूलो मुद्दा हो। हाम्रो चिन्हारी शिक्षाले दिनु सक्छ। शिक्षाको निम्ति सरकारले सहुलियत दिएको छ तर व्यवस्थापन ठीक नभएको कारण नै यहाँ हुनु पर्ने कुरा ठीक भएको छैन। मैले शिक्षालाई नै प्राथमिकता दिएर काम गर्ने सोच बनाई सकेको छु। हाम्रो प्राथमिक शिक्षा नै ध्वस्त भएको छ।”

प्राथमिक शिक्षालाई गुणात्मक बनाउने आफ्नो योजना भएको बताउँदै उनले भने, “मेरो कार्यकाल भित्रमा म शिक्षा व्यवस्थालाई रूपान्तरण गर्नु चाहन्छु। विद्यार्थी देखि शिक्षक शिक्षिका सम्मलाई स्कूलमा चाहिने पूर्वाधारहरू ठीक गर्नेछु। नानीहरूले स्कूलमा कम्प्यूटर चलाउनु पाउनेछन्।
हाम्रो प्राथमिक शिक्षा ध्वस्त भई सकेको छ, माध्यमिक शिक्षा पनि ध्वस्त हुँदै गई रहेको छ। माध्यमिक शिक्षालाई बचाउनु मैले प्राथमिक शिक्षालाई जोगाउनु नै पर्छ।”
विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले भने, “विद्यार्थीको मुख्य काम नै पढ्नु हो। पढेको मान्छेले भोलिको दिनमा केही न केही गरेर जीविका आर्जन गरेको नै हुनेछ। नपढ्ने मान्छेको बेसी बहाना हुन्छ।”
विद्यालयले चढाएको ज्ञापन पत्र माथि बोल्दै उनले भने, “म एकोहोरो मान्छे हुँ। सोचेको अनि हातमा लिएको कामलाई फत्ते गरेर नै छोड्ने बानी छ।
रामकृष्ण स्कूलमा अब नानीहरूले, शिक्षकहरुले राम्रो डेस्क, बेञ्चमा बसेर शिक्षा लिनेछन् अनि दिनेछन्। यहाँको शैक्षिक वातावरण अझ असल भएर जानेछ।”
स्कुलका प्रधान अध्यापिका श्रीमती चन्द्रकला सुब्बाले जानकारी दिँदै भने, “विद्यालयले स्कूललाई चाहिने पूर्वाधार अनि स्कूल ब्यान्डको निम्ति प्रमुख कार्यपाललाई ज्ञापन पत्र चढायो। अनित थापा ज्युले यो वित्तीय वर्षमा नभएर अर्को वित्तीय वर्षमा स्कूलले चढाएको ज्ञापन माथि कार्य गर्ने वचन दिनु भएका छन्।”
रामकृष्ण उच्चतर माध्यमिक विद्यालय खरसाङको नयाँ बजार स्थित बालिकाहरूको निम्ति अध्यापन गर्ने विद्यालय हो।










