८ अगस्तः कमनवेल्थ गेम्सको महिला क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरी स्वर्ण पदक जित्यो। यसरी टीम इण्डियाले रजत पदकमै सन्तोष मान्नु पऱ्यो। बर्मिंघमको एजबेस्टन मैदानमा आइतवार राति खेलिएको फाइनल अन्तिम ओभरसम्म चल्यो तर भारतले १६२ रनको लक्ष्यलाई हासिल गर्न सकेन। अष्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बटुलेको थियो। जवाफमा भारतीय टीम १९.३ ओभरमा १५२ रन बनाएर अलआउट भयो। भारतीय टीमबाट कप्तान हरमनप्रीत कौरले ४३ बलमा ७ वटा चौका र २ वटा छक्काको सहायताले सर्वाधिक ६५ रन बनाइन्। यसबाहेक जेमिमा रोड्रिगेजले ३३ रनको योगदान दिइन्। ओपनरद्वय शेफाली वर्मा (११) र स्मृति मन्धना (६) शुरुमै आउट भएपछि भारतको निम्ति लक्ष्य कठिन बन्न पुग्यो। अष्ट्रेलियाई बलरहरूमा एश्ली गार्डनरले सर्वाधिक ३ विकेट हासिल गरिन्।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाई टीमको तर्फबाट ओपनर बेथ मूनेले सर्वाधिक ६१ रन बनाइन्। उनले ४१ बल खेलेर ८ वटा चौका लगाइन्। यसबाहेक कप्तान मेग लेनिंगले ३६ र एश्ले गार्डनरले २५ रनको योगदान दिइन्। भारतीय बलरहरूमा रेणुका सिंह र स्नेह राणाले २-२ विकेट हासिल गरिन्। महिला क्रिकेटमा काँस्य पदक न्यूजील्याण्डको नाममा रह्यो।










