झापा: झापाको बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड गर्ने चार जनालाई पुलिसले पक्राउ गरेको छ। एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको हो । यस घटनामा पक्राउ पर्नेहरुमा बुद्धशान्ति ४ का अन्जेस राई (बुलेट किराती), सोही ठाउँका बिकेस् राई, बिर्तामोड ९ का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल रहेको पुलिसले जनाएको छ। गत अप्रिल ७ एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कले ऋणीलाई टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुसीराम चौधरीले आत्महत्या गरेको थिए। त्यसैको विरोधमा दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा सङ्गठन नागरिक युवा दस्ताले बैङ्कमा तोडफोड गरेका थिए।
करिब १५० जनाको उपस्थितिमा कालो मास्क र नेपालको झन्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरूले बैङ्कमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीले ज्योति विकास बैङ्कमा प्रवेश गर्न खोजेपछि पुलिसले हस्तक्षेप गरेको थियो। उनीहरूले एभरेस्ट बैङ्क रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५-१६ वटा सिसा फुटेको पुलिसले जनाएको छ। ज्योति विकास बैङ्कमा भने क्षति नभएको पुलिसले जनाएको छ।