झापा: सन् २०२४ को शुरुदेखि नेपालमा हवाईमार्गबाट भित्रिने विदेशी पर्यटकको आगमन दर उत्साहजनक रूपमा बढ्दै गएको छ। पर्यटकीय सिजन चलिरहँदा सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ को अप्रेलको तुलनामा सन् २०२४ को अप्रेलमा दुई प्रतिशत र सन् २०२३ को तुलनामा झन्डै १३ प्रतिशतले पर्यटक आगमन बढेको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘सन् २०१९ को अप्रेलमा एक लाख नौ हजार ३९९ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को सो अवधिमा ९८ हजार ७७३ जना विदेशी नेपाल भित्रिएका थिए। अघिल्लो अप्रेलको तुलनामा यो वर्ष १३ प्रतिशतले विदेशी पर्यटक आगमन बढ्दै एक लाख ११ हजार ३७६ जना भित्रिएका छन्।‘
सन् २०२४ को चार महिनामा पर्यटक आगमन मासिक सरदर एक लाख नाघ्न थालेको उनले जानकारी दिए। कोरोना महामारीले प्रभाव पारेको वर्ष सन् २०२० को अप्रेलमा सबैभन्दा कम १४ जना मात्रै पर्यटक नेपाल आएका थिए। त्यस्तै गरी सन् २०२१ को अप्रेलमा २२ हजार ७३२ र सन् २०२२ को अप्रिलमा ६१ हजार ५८९ पर्यटक भित्रिएको बोर्डको तथ्यांकले देखाएको छ।
बोर्डका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार एक सय, फरवरीमा ९७ हजार ४२६ र मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यो वर्षको अप्रेलमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन्। सो अवधिमा भारतबाट ३० हजार १५८, अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, इंग्ल्याण्डबाट पाँच हजार ३९१, अस्ट्रेलियाबाट चार हजार ११०, बंगलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र मलेसियाबाट दुई हजार ३१० जना पर्यटक नेपाल आएका छन्। पर्यटक आगमन दर अहिलेकै अवस्थामा वृद्धि हुँदै गए सन् २०२४ सबैभन्दा बढी पर्यटक भित्रिन सक्ने बोर्डले प्रक्षेपण गरेको छ। बोर्डका अनुसार सन् २०२४ मा १३ देखि १४ लाख पर्यटक भित्रिन सक्ने सम्भावना देखिन्छ।










