माउन्ट एभरेस्ट जाने बाटो भत्किएपछि आरोहण बन्द

IMG-20240422-WA0004

झापा: माउन्ट एभरेस्ट , ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि आरोहण बन्द भएको छ। पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिबार राति करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो। बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ। आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन माउन्ट एवेरेस्ट प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको सम्पर्क अधिकृत दावा फुटी शेर्पाले जानकारी दिए। क्याम्प चारको लक्ष्यका साथ शनिवार राति आधार शिविरबाट उकालो हिँडेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फिर्ता आउनु परेको गाइड कुङगा शेर्पाले आधार शिविरबाट जानकारी दिए।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ। बाटो निर्माण भएमा मंगलबार बिहानैदेखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिए। मई १३/१४ मा चुचुरोसम्मको बाटोमा डोरी टाँग्ने लक्ष्यका साथ फिक्सीङ टोलीले काम अघि बढाएको जानकारी भएको उनले बताए। यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पैह्रोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ।

About Author

Advertisement