झापा (नेपाल): हवाई उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनः उडान शुरु भएपछि यात्रुमा उत्साह देखिएको छ। नेपाल वायुसेवा निगमको जहाजले पुनःहिजोदेखि भोजपुर–विराटनगर उडान थालेको हो। बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुशी महसुस गरेका छन्। भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए। उनका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ। उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुशी महसुस गर्दै भनिन् , ‘समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुशी छौँ, निगमले नियमित उडान गर्न जरुरी छl’ वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए। ‘अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ। अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ’, उनले भने।