झापा (नेपाल): हरियो चियापत्तीको मुना टिप्ने सिजन सुरुभएसँगै किसान ठगिने गरेको गुनासो आउन थालेका छन्। सिजन शुरु भएपछि विभिन्न वहानामा ठगिनु परेको किसानहरुको गुनासो छ। इलामको सूर्योदय नगरपालिकामा रहेका किसानहरुले ठगीका विरुद्ध संघर्ष गर्ने घोषणा नै गरिरहेका छन्। सक्रिय किसान तारा नेपालको अगुवाइमा सबै तहका सरकारलाई ज्ञापन पत्र बुझाइसकिएको छ।
एक सघर्ष समिति बनाइ स्थानीयदेखि केन्द्र सरकारसम्मको ध्यानाकर्षण गराउन सात बुँदे ज्ञापन पत्र बुझाइएको नेपालले बताए। कहिले गुणस्तरको नाममा, कहिले अर्गानिकको नाममा, कहिले मूल्य निर्धारणको नाममा किसानलाई मारपर्ने काम भइरहेको उनले बताए। ८० प्रतिशत चिया किसान रहेको सुर्योदय नगरपलिकामा किसानको रोजीरोटीमै समस्या आउने परिस्थिति बनेको उनीहरुको भनाइ छ। चिया समस्याबारे दिगो सामाधान गर्न राखिएका मागहरु बेवस्ता गरे आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन्।
किसान संघर्ष समितिले हरियो चियाको कार्यविधि सच्याइ अन्तरजिल्ला र भारतमा खुल्ला रुपमा बेच्न पाउनुपर्ने, विषाधीरहित बालिनाली र विषादीरहित चियाको विकल्प दिन, अर्गानिक परीक्षणको लागि ल्याबको व्यस्था गर्न, व्यवसायी, उद्योगीले पनि अर्गानिकिकरण गरी गुणस्तरीय बन्नुपर्ने, टी एसोसिएसनले अनावश्यक झमेला लगाउने गरेकाले त्यसलाइ रोक्न माग गरेका छन्। उनीहरुले तीन दिनको अल्टिमेटम सहितको ध्यानाकर्षण गराएका छन्। सूर्योदय नगरप्रमुखसँग सम्बन्धित विषयमाथि छलफल गर्ने तयारी गरिरहेको अगुवा किसान नेपालले द रिपब्लिक इण्डियनसँग बताए।