काठमाडौं: नेपालका उपप्रधानमन्त्री तथा विदेशमन्त्री नारायण काजी श्रेष्ठले चीनसँग मात्र नभई भारतसँग पनि सम्बन्ध अझ सशक्त बनाउन आफू अगाडि बढेको बताएका छन्। नेपालले आर्थिक र विकास करिडोर निर्माण गरी दुवै छिमेकीसँगको सम्बन्धलाई पुनरुत्थान गर्न खोजेको श्रेष्ठले बताए। नेपालले यसअघि चीनसँग मात्रै विचारको कुरा गरेको भए पनि अहिले भारतसँग पनि यस्तै करिडोर निर्माण गर्ने दृष्टिकोणलाई अगाडि बढाउने योजना रहेको श्रेष्ठले स्पष्ट पारेका छन्। गत २४ मार्चदेखि १ अप्रेलसम्मको आफ्नो चीन भ्रमणका क्रममा श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाल, तिब्बत र चीनको चोङ्छिङलाई जोड्ने आर्थिक साथै विकास करिडोर निर्माणको प्रस्ताव राखेको द काठमाण्डौ पोस्टले जनाएको छ। नेपाल आएपछि श्रेष्ठले भने, ‘अहिले चीनबाट सान्सी प्रान्तको सियान र ग्वाङ्डोङ प्रान्तको राजधानी ग्वाङ्झाउ जोड्ने प्रस्ताव आएको छ। अधिकांश नेपाली व्यापारीहरू बसोबास गर्ने र चिनियाँ सामान निकासी गर्ने ठाउँ यही हो।‘ नेपालका उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सीमावर्ती भारतीय राज्य उत्तराखण्ड, बिहार, उत्तर प्रदेश र पश्चिम बंगाललाई जोड्ने समान करिडोर विकास गर्न वार्तालाई तीब्रता दिएको छ। करिडोरको मोडल चीनको जस्तै हुने तर प्राथमिकता र चासोका आधारमा टुंगो लगाइने उनको भनाइ छ।











