झापा: पूर्वाञ्चल विश्वविद्यालय (पीयु)को उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन्। थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो। सो समितिले (पीयु) मा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो।दुवै समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए। विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको छ। मेरिटोक्रेसीअनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ। प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए।