मिक्लाजुङमा शिशु हत्याको आरोपमा आमा पक्राउ

IMG-20240501-WA0004

झापा: मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा  पुलिसले एक जना महिलालाई पक्राउ गरेको छ। अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको पुलिसले जनाएको छ। हत्याको आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन्। शिशुका बाबु भने पत्ता नलागेको जानकारी पुलिसले दिएको छ। पुलिसले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाइएको छ। मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई  पक्राउ गरिएको हो। पुलिसका अनुसार अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको जानकारी उनले दिएकी छन्। पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको पुलिसको भनाइ छ।

डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको खुलेको छ। त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा मंगलबार साँझ शिशुको शव फेला परेको उनको भनाइ छ। जन्माएर शिशुको हत्या गरी घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले पुलिसलाई खबर गरेका थिए। तत्कालै घटनास्थल पुगेको पुलिसले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको हो। कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताएका छन्।

About Author

Advertisement