कोलकाता: पश्चिम बंगाल केही सातादेखि चरम गर्मीको चपेटामा परेको छ। बिहानैदेखि चर्को घामले सर्वसाधारणलाई सताइरहेको छ। दिउँसो सडकमा पहिलेजस्तो भीडभाड हुँदैन। बेलुका पनि तातो हावा चलिरहेको हुन्छ। मौसम रिपोर्टका अनुसार कोलकाता राजस्थानको जयपुर भन्दा बढी तातो छ। जयपुरमा ३६-३८ डिग्री तापक्रम रहेको छ भने कोलकाताको तापक्रम ४२ डिग्रीमा पुगेको छ। त्यसैले अत्यावश्यक बाहेक बिहान ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन मौसम विभागले सतर्कता जनाएको छ। यदि बाहिर निस्किन परे निश्चित रूपमा छाता बोक्नुपर्छ। टाउको र अनुहार छोप्नु राम्रो हुन्छ। बारम्बार पानी पिउनुपर्छ। साथै, मौसम विभागले केही राज्यहरूमा रेड अलर्ट जारी गरेको छ।
अलिपुर मौसम विभागले आगामी बिहीबारसम्म मौसममा परिवर्तनको सम्भावना नरहेको जनाएको छ। दार्जीलिङ, कालेबुङ र जलपाईगढी बाहेक राज्यको कुनै पनि जिल्लामा एक थोपा पनि वर्षा हुने अनुमान गरिएको छैन। आज दिउँसो पनि कोलकाताको तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियो। दक्षिण बंगालको तापक्रम आगामी केही दिनमा १-२ डिग्रीले बढ्न सक्छ। मेदिनीपुर, बर्दवान, बाँकुरा, वीरभूम र झारग्राममा अझै गर्मी हुने सम्भावना छ। त्यहाँ रेड अलर्ट जारी गरिएको छ। बाँकी दक्षिणी जिल्लामा आगामी बिहीबारसम्म तातो हावा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँ ओरेन्ज अलर्ट जारी गरिएको छ। तर, दक्षिण बंगालमा आगामी पाँच दिनसम्म पानी पर्ने सम्भावना छैन।