लाहौर: पाकिस्तानको क्रिकेट टीम जसोतसो न्यूजील्याण्डको युवा र अनुभवहीन टीम विरुद्ध सीरीज गुमाउनदेखि बाँच्यो। शनिवार राति खेलिएको टी२० इण्टरनेशनल सीरीजको पाँचौं तथा अन्तिम म्याचमा पाकिस्तानले न्यूजील्याण्डलाई ९ रनले पराजित गऱ्यो। यसरी पाँचवटा म्याचको सीरीज २-२-को बराबरीमा समाप्त भयो। यहाँको गद्दाफी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन बनायो। कप्तान बाबर आजमले ४४ बलमा ६ वटा चौका र २ वटा छक्काक साथ सर्वाधिक ६९ रन बनाए। यसबाहेक फखर जमानले ४३ र उस्मान खानले ३१ रनको योगदान दिए। केवल ८ रनमा पहिलो विकेटको पतनपछि कप्तान बाबरले उस्मानसँग दोस्रो विकेटको निम्ति ७३ र फखरसँग मिलेर तेस्रो विकेटको निम्ति ४२ रनको पार्टनरशीप गरे। शाबाद खान १५ रनमा अविजित रहे। त्यसपछि न्यूजील्याण्डको तर्फबाट ओपनर टिम सीफर्टले अर्द्धशतकीय ईनिंग्स खेले पनि अन्य कसैले साथ नदिँदा न्यूजील्याण्डको टीम १९.२ ओभरमा १६९ रन बनाएर अलआउट भयो। सीफर्टले ३३ बल खेलेर ७ वटा चौका र २ वटा छक्काको साथ ५२ रन बनाए। यसबाहेक जोस क्लार्कसनले अविजित ३८ र कप्तान माइकल ब्रेसवेलले २३ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा शाहीन शाह अफरीदीले सर्वाधिक ४ विकेट लिए। म्याचमा ४ विकेटको साथमा सीरीजमा जम्मा ८ विकेट लिने अफरीदीलाई प्लेयर अव् द म्याच र प्लेयर अव् द सीरीजको पुरस्कार प्रदान गरियो।