टीआरआई समाचार
दार्जीलिङ: कुनै पनि ऐतिहासिक स्थलको बारेमा लेखिएको बोर्ड राख्नुको अर्थ हुन्छ त्यस ठाउँ बारे त्यहाँ आउने पर्यटकहरु साथै सर्वसाधाणले बुझ्छन् र जानकारी पाउँछन्l तर त्यस्ता विवरण लेखिएको बोर्ड हटाउँदा त्यस ठाउँको महत्व पनि घटेर जान्छ अनि इतिहास बारेमा पनि सबैले जानकारी पाउँदैनन्l सबैले पुस्तक पढ्छन् भन्ने छैन, ऐतिहासिक तथ्य लेखिएका बोर्डहरुबाटै नै बहुसंख्यकले जानकारी पाउँछन्l
दार्जीलिङ पहाडको इतिहासको मुख्य पाटा रहेको एउटा ऐतिहासिक स्थल संरक्षण गर्नु सट्टामा बेवास्ता गरिएको छl घुमदेखि केही टाडो सुकेपोखरी जाने बाटो घुम भन्ज्याङमा अवस्थित छ गोर्खा थुम, जसलाई ओल्ड गोर्खा स्टेशन पनि भनिन्छl उहिलेदेखिको भनाइअनुसार यहाँ गोर्खा फौज आएर बिसाउने हुनाले गोर्खा थुम नाम बसेको भनिन्छl सन् १८२९ को फरवरी महिनामा जनरल लोयड र तिनताक मालदाका कमर्सियल रेजिडेन्ट जी.डब्ल्यु ग्रान्ट दार्जीलिङ पहाडको भूमि यस ठाउँमा पाइला टेक्ने पहिलो युरोपेली नागरिक थिएl सो बेला उनीहरु यहाँ ६ दिन बसेको लोयडले उल्लेख गरेको इतिहास छl यतैबाट दुवै सिक्किम पुगेका थिएl यी दुईको प्रवेश दार्जीलिङ पहाडको भौगोलिक साथै राजनैतिक इतिहासमा धरै नै महत्वपूर्ण छl यो गोर्खा थुमलाई कुनै महत्व नदिनु हो भने आफ्नै इतिहास बिर्सिने र मेट्ने कार्य हुन्छl दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) को पालामा यहाँ एउटा बोर्डमा यहाँको विवरण लेखेर राखिएको थियो, तर अहिले त्यहाँ कुनै बोर्ड छैनl यदि बोर्ड पुरानो भएर हटाएको हो भने पनि पहिला नयाँ बनाएर मात्र हटाउनु पर्ने होl तर बोर्ड कसले हटाएको हो त्यहाँ वरिपरिका कसैलाई थाहा छैनl त्यहाँ राखिएको बोर्ड यस्तै करिब छः सात वर्षदेखि नै छैन अनि हटाएपछि अर्को बोर्ड पनि लगाएको छैनl यसले गर्दा पनि यो ऐतिहासिक स्थलमा बेवास्ता गरिएको स्पष्ट हुन्छl
सन् १९८६ देखि सन् १९८८ सम्म चलेको २८ महिनाको गोर्खाल्याण्ड आन्दोलनपछि २२ अगस्त १९८८ मा दागोपाप प्राप्त भयोl दागोपाप गठन भएपछि सन् १९८८ देखि नै तत्कालिन दागोपापका अध्यक्ष स्व० सुवास घिसिङले यही गोर्खा थुममै माथिको डाँडामा अवस्थित देवीको मन्दिरबाट बडा दशैंका बेलामा महासप्तमीमा फूलपाती उठाउने प्रथा बसालेका थिएl यहाँको मन्दिरमा बिहानै दार्जीलिङ, खरसाङ, कालेबुङलगायत पहाडका विभिन्न ठाउँबाट फूलपाती लिन जान्थेl यहींबाट फूलपाती ढोलीमा भरेर सबैले आआफ्नो ठाउँमा लिएर जान्थे र फूलपातीको विराट शोभायात्रा निकालिन्थ्योl तर सन् २००८ मा पहाडमा फेरि गोर्खाल्याण्डकै नाममा अर्को आन्दोलनले राजनैतिक उथुलपुथुल मच्चिएपछि सुवास घिसिङको शाषण समाप्त भएपछि गोर्खा थुमको देवी मन्दिरबाट फूलपाती उठाउने चलन पनि हरायोl
यो गोर्खा थुम क्षेत्रलाई वर्तमान गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) जस्ता निकायले संरक्षण गर्नसक्छl यस क्षेत्रलाई नयाँ अवधारणा तयार गरेर पर्यटनको निम्ति विकसित गर्नसके असल कार्य हुनेछl गोर्खा थुम क्षेत्र एउटा ऐतिहासिक धरोहर स्थल भएका हुनाले यसलाई विकास गरेर संरक्षण गर्न आवश्यक छl
घुम भन्ज्याङमा अवस्थित मन्दिर
घुम भन्ज्याङको गाउँ