दार्जीलिङ: आज लेबोङको गोर्खा स्टेडियममा श्री सतपालजी महाराज र भाजपाका गठबन्धन पार्टीका नेताहरूको भाजपाका उम्मेदवार राजु बिष्टले चुनावी जनसभालाई सम्बोधन गरे। यसबारेमा उनले प्रेस विज्ञप्ति जारी गरेका छन्l जनसभामा सतपालजी महाराजले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो क्षेत्र र जनतालाई न्याय सुनिश्चित गर्ने केन्द्रीय सरकारको वचनबद्धता रहेकोमाथि जोड दिए। उनले यस क्षेत्रमा केन्द्रीय सरकारद्वारा गरिएका प्रमुख कार्यहरूमाथि प्रकाश पार्दै भने कि उनको आशीर्वाद सदैव दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनतामाथि रहने छ। आजको यस जनसभालाई केन्द्रीय गृहमन्त्री अमित शाहले पनि सम्बोधन गर्ने कार्यक्रम थियो, तर खराब मौसमको कारण उनको हेलिकोप्टरले बागडोग्राबाट दार्जीलिङको लागि उडान भर्न नसकेको भाजपाका उम्मेदवार राजु बिष्टले बताएका छन्। राजु बिष्टले बताएअनुसार, टोलिफोनको माध्यमले एक सन्देशमा गृहमन्त्री अमित शाहले भाजपा यस क्षेत्रमा शान्ति, प्रगति अनि विकास सुनिश्चित गर्न वचनबद्ध छ। छुटेका ११ गोर्खा जातगोष्ठीहरूलाई अनुसूचित जनजातिको सूचिमा राख्ने विषय विचाराधीन रहेको, अनि दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताले भारतको संविधानअन्तर्गत न्याय अवश्य पाउने गृहमन्त्री अमित शाहले बताएको उनले बताएका छन्l
राजु बिष्टले भने, ‘हाम्रो दार्जीलिङ पहाड, तराई अनि डुवर्स क्षेत्र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ। यो हाम्रो राष्ट्रमा सबैभन्दा महत्त्वपूर्ण अनि आकर्षक पर्यटन स्थलहरू मध्ये एक हो, दोस्रो सबैभन्दा ठूलो चिया उत्पादक हो, जल-विद्युत विकास, सिन्कोना अनि औषधीय बोटविरुवाको केन्द्र हो, र सिमाना वारिपारि व्यापार एवं वाणिज्यका लागि अथाह सम्भावनाहरू भएको क्षेत्र हो। हाम्रो क्षेत्र साँच्चै नै एउटा सुनको हाँस हो।‘ उनले अझ भने, ‘यो सुनको हाँसको स्याहार गर्नुको साटो टीएमसी सरकारले हाम्रो क्षेत्रलाई ठूलो क्षति पुऱ्याएको छ, अनि यसको सम्भाव्यतामा अभिवृद्धि गर्न अस्वीकार गरेको छ। उनीहरूले हाम्रो क्षेत्रमा रोहिङ्ग्या अनि अवैध घूसपैठीहरूलाई भित्र्याएर सक्रिय ढंगले हाम्रो क्षेत्रको जनसांख्यिकीलाई बिथोल्ने प्रयास गरिरहेका छन्। महिलाहरू विरुद्ध अपराधमा वृद्धि भएको छ, जथाभावी गुण्डागर्दी अनि पैसा धुत्ने चलन बढ़ेको छl’ राजु बिष्टले भने, ‘मेरो परिकल्पना दार्जीलिङ पहाड, तराई अनि डुवर्सको पुनरुत्थान गर्नु, अनि हाम्रो क्षेत्रलाई उत्तर बंगाल र पूर्वोत्तर भारतको आर्थिक मुटुको रूपमा पुनर्स्थापित गर्नु रहेको छ।‘