गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा एसकेएम सरकारले विगत पाँच वर्षको अवधिमा पर्यटन क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको एसकेएम पर्यटन प्रकोष्ठका पदाधिकारीहरूले जानकारी गराएका छन्।
आज राजधानीको तिबब्त पथ स्थित एसकेएम पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रकोष्ठका पदाधिकारीहरूले घरेलु लगायत विदेशी पर्यटकहरूको सिक्किम आगमनमा वृद्वि भएको जानकारी गराएका छन्।
कोभिड महामारी र टिस्टा त्रासदीका कारण पर्यटन व्यावसाय प्रभावित बने तापनि पछि पर्यटकहरूको आगमनमा वृद्वि भएर गएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पर्यटन प्रकोष्ठका अध्यक्ष लुकेन्द्र रसाईलीले पत्रकार सम्मेलनमा जानकारी गराए। यसैगरी उनले प्रमोशनल मार्केटिङ र इज अफ डुईङ विजनेसमा विशेष ध्यान दिइएको र क्यापासिटी बिल्डिङ स्कील्ड डेफलपमेन्टमा ध्यान दिएर काम गरेको जानकारी गराए।
एसकेएम सरकारले राम्माम चेकपोस्ट खोलिदिएको र रेसी चेकपोस्टबाट पनि पर्यटकहरू आउन सक्ने प्रावधान बनाइएको उनले जनाए। सोही प्रकारले पर्मिटको निम्ति ठाउँ ठाउँमा सुविधा केन्द्र बनाइएको जसले होम स्टे पर्यटन बढेर गएको उनले बताए। अनलाइन पर्मिट लगायत २६ सीटे हेलिकप्टर सञ्चालनमा रहेको पनि उनले जानकारी गराए।