लद्दाखका सांसद जामयाङ्ग छिरिङ नामग्यलले गरे भाजपा उम्मेद्वारको प्रचार

IMG-20240416-WA0215.jpg

गान्तोक: भारतीय जनता पार्टीका स्टार प्रचारक तथा लद्दाखका सांसद जामयाङ्ग छिरिङ नामग्यलले आज उत्तर सिक्किमको मंगन जिल्लाअन्तर्गत कावी लुम्चोकका उम्मेद्वार उगेन नेडुप भोटियाको निम्ति भोट अपील गरे। फेन्सोङस्थित उम्मेद्वार भोटियाको घरमा एउटा कोठे बैठकलाई सम्बोधन गर्दै उनले आगामी चुनाउमा किन भाजपा पार्टीलाई भोट दिनु किन सिक्किम र सिक्किमवासीको हितमा छ भन्ने बारेमा उपस्थित गाउँलेलाई बताए। उल्लेखनीय छ, वर्ष २०१९ मा संसदमा आफ्नो जोशिलो सम्बोधनको निम्ति प्रख्यात छन् लद्दाखका युवा सांसद जामयाङ्ग छिरिङ नामग्याल।आगामी १९ अप्रेलको दिन सम्पन्न हुने देशको १८औं लोकसभा र ११औं राज्य विधानसभा चुनाउमा सिक्किममा भाजपा-का स्टार प्रचारकको रुपमा खटिएका सांसद नामग्याल आफ्नो तीन दिने भ्रमणमा हिजो गान्तोक आइपुगेका थिए। आज बिहान उनले पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत मार्तम रुम्तेकमा पनि भाजपा उम्मेद्वारको पक्षमा प्रचार प्रसार गरेका थिए। अपराह्नको समय फेन्सोङ पुग्दा भाजपा उम्मेद्वार तथा पूर्व विधायक उगेन नेडुप भोटिया साथै पार्टीका शीर्ष नेताहरूले उनले स्वागत जनाएका थिए।यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै सांसद नामग्यलले भ्रष्टाचारमुक्त र समृद्ध सिक्किम निर्माणको लागि राज्यवासीलाई आगामी चुनाउमा कमल छापमा भोट हाल्ने अपील गरेका छन्। यसको साथै उनले एसकेएम पार्टी र सरकारमाथि भ्रष्टाचार र परिवारवादको आरोप पनि लगाए। पहिलेको एसडीएफ सरकारमा भ्रष्टाचार र परिवारवाद बड़ेर गएको आरोप लगाउँदै सरकारमा आएको एसकेएम पार्टीको सरकार भ्रष्टाचार र परिवारवादमा अझ एक कदम अघि बड़ेको सांसद नामग्यलको भनाइ रहेको छ। त्यसैले सिक्किमलाई भ्रष्टाचार र परिवारवादबाट मुक्त राखेर प्रगति र विकासको दिशामा अघि बड़ाउनु हो भने भारतीय जनता पार्टी एकमात्र विकल्प रहेको उनले बताए।सांसद नामग्यलले देशमा फेरि एकपल्ट भाजपा सरकार आउने किटान गर्दै सिक्किममा पनि कमल फुलेको खण्डमा राज्यको विकास अधिक हुने दावी गरे। यसै सन्दर्भमा बोल्दै भ्रष्टाचार गर्न नपाउने बुझेर क्षेत्रीय पार्टीहरूले भाजपा-लाई रोक्न बाहिरको पार्टी भनेर दुष्प्रचार गरिरहेको आरोप पनि लगाए। एउटा प्रश्नको जवाफमा संविधानको धारा ३७१एफ र ३७० मा पार्थक्यता रहेको बताउँदै भाजपा सरकारले एउटै देशमा दुईवटा संविधानको प्रावधान राख्ने धारा ३७० लाई हटाएको तर सिक्किमलगायत पूर्वोत्तरका विभिन्न क्षेत्रको पहिचान र अस्तित्वको रक्षा गर्ने धारा ३७१लाई कहिल्यै नहटाउने सांसद नामग्यलले बताए।पछि उनले स्थानीय गाउँलेहरूलाई लिएर एउटा कोठे बैठकलाई पनि सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement