एसडीएफ सरकारमा आएपछि राजनीतिक पार्टीका झण्डाहरू निजी घरहरूमा जबर्जस्ती लगाउन नपाइने नियम लागू गर्ने

n6008098121713281867437da368b23b67d1eecc874b0e6f0ded367bbfbf3ac0c5ddde0b31ebc84736cb119.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले भने, हामी सरकारमा आएपछि राजनीतिक पार्टीका झण्डाहरू निजी घरहरूमा जबर्जस्ती लगाउन नपाइने नियम लागू गर्नेछौं।

कसैले जबर्जस्ती झण्डा लगाउँछ भने कानूनी कार्यवाही हुनेछ। उनले भने, राजनैतिक पार्टी वा अन्य संघ-संस्थाका झण्डाहरू सरकारी, सार्वजनिक स्थानहरू, बाटो-घाटो, पूल, भित्ता, ल्याम्पपोस्ट आदिमा लगाउन नपाउने नियम लागू गरी उल्लंघन गर्नेहरूविरुद्ध सख्त कानूनी कार्वाही गरिनेछ।

मंगलवार नाम्ची जिल्लाको पोकलोक कामराङ समष्टिको आसाङथाङमा एसडीएफ पार्टीको विराट एवम् अन्तिम चुनावी जनसभालाई सम्बोधन गर्दै चामलिङले आउँदो सरकारमा मुख्यमन्त्रीको फोटो कुनै सरकारी कार्यालयमा लगाउनु नपर्ने घोषणा गर्दै भने, महात्मा गान्धीहरू जस्ता महान व्यक्तित्वको फोटो राख्नु होस्, मुख्यमन्त्री फोटो राख्नु पर्नेछैन।

उनले भने, सिक्किम बचाउन, सिक्किमको शान्ति, सुरक्षा अनि भावी पुस्ताको भविष्य बचाउन एसडीएफलाई सरकारमा ल्याउनु होस्। उनले एसडीएफ पार्टीका उम्मेदवारहरूलाई विधानसभा र लोकसभामा भारी मतले जिताउन सिक्किमे जनतासित आग्रह गरे।

एसडीएफ नेता चामलिङले भने, म मर्दा पनि तपाईंहरूको काखमा मर्नेछु, बाँचुनजेल तपाईंहरूको भएर बाँच्नेछु, म सिक्किमलाई कहिले धोका दिने छुइँन। मैले मेरो सम्पूर्ण जीवन सिक्किम र सिक्किमे जनतालाई सम्पर्ण गरेको छु, मेरो बाँकी जीवन पनि सिक्किम र सिक्किमे जनतालाई समर्पित छ। यसैले तपाईंहरूले एसडीएफलाई भोट दिएर सिक्किम बचाउनु हुनेछ भन्ने हामीले पूर्ण विश्वास गरेका छौं।

उनले अझ भने, सिक्किमलाई कार्वन नेगेटिभ राज्य बनाएर विश्वभरिका मानिसलाई सिक्किम घुम्न बोलाउनेछौं। पर्यटन उद्योगलाई गाउँमुखी, जनमुखी र सर्वव्यापी बनाउनेछौं। पर्यटन उद्योगलाई सिक्किमको रोजगारी, आय र पेशाको प्रमुख स्रोत बनाउनेछौं। आगामी कार्यकालमा प्रत्येक ग्राम पञ्चायतलाई पर्यटन केन्द्रको रूपमा विकास गर्नेछौं र पर्यटनलाई अर्थनीतिको प्रमुख स्तम्भ र आयस्रोत बनाउनेछौं।

चामलिङले भने, एसकेएमको आतंकबाट, अन्याय अत्याचारबाट एसडीएफ पार्टीले मात्र बचाउने छ। यसैले सिक्किमे जनता डराउनु पर्दैन। हामी सिक्किमे जनतालाई शान्ति र सुरक्षा दिनेछौं। हत्या, हिंसा र अन्यायबाट सिक्किमलाई जोगाउन सिक्किमे जनताले एसडीएफ पार्टी र छातामा भोट दिनुपर्छ। मिङ्तोगाङबाट गोलेलाई नहटाएसम्म सिक्किममा शान्ति हुनेछैन।

जनसभालाई सम्बोधन गर्दै लोकसभा उम्मेदवार पीडी राईले लिम्बू-तामाङलाई विधानसभामा सिट आरक्षण गराउने, छुटेका 12 जातिलाई जनजातिको मान्यता दिलाउने, सिक्किमको हक अधिकारको सुरुक्षा गर्न अनि संविधानको धारा ३७१ एफ को सुरक्षा गर्न, वित्त कानुन २०२३ लाई संसोधन गराउने वचन दिँदै मतदानका लागि अपील गरे। उनले भने, यसपालीको चुनाउ धेरै महत्वपूर्ण छ, २०२६ -मा परिसिमाङ्कन हुनेछ, यसका लागि एकजना अनुभवी सांसदको खाँचो पर्दछ। म मेरो अनुभव र ज्ञानको प्रयोग गर्नेछु। उनले भने, हामीले सिक्किम बचाउनु छ, सिक्किमे जनतालाई न्याय दिनुछ।

जनसभामा एसकेएम तथा सिटिजन एक्सन पार्टी त्यागेर पाँचसय भन्दा धेरै परिवार एसडीएफमा सामेल भएको दाबी एसडीएफ प्रचार प्रसार महासचिव जूडी राईद्वारा जारी प्रेस विज्ञप्तिमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement