गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आउँदो सरकारमा सिफारिस प्रथा बन्द गर्ने घोषणा गरेका छन्। उनले भने, कुनै पनि सहुलियत अथवा विकास सरकारको कृपा, दया, अनुग्रह वा दान-दक्षिणा होइन तर जनताका जन्मसिद्ध अधिकार हुन्।
आगामी सरकारमा हामी यो कुरोलाई प्रमाणित गर्नेछौं। जनताले विकास अथवा कुनै पनि सहुलियतहरू नियम र क्राइटेरियाअनुसार सजिलै पाउनेछन्। यसका लागि कुनै पनि जन-प्रतिनिधि, एमएलए अथवा पञ्चायतको सिफारीसको आवश्वयकता पर्नेछैन।
मार्ताम रूम्तेक समष्टिको साङ बजारमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ नेता चामलिङले सिक्किमे जनतालाई नयाँ वर्ष २०८१ को शुभकामना अर्पण गर्दै आफ्नो सम्बोधन शुरु गरेका थिए। उनले भने, सिक्किमे जनतालाई सधैंभरिका लागि सिक्किमको शासक र मालिक बनाउने मुद्दा, कार्यक्रम र योजना लिएर हामी आएका छौं। १७औं कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम भ्रमण गर्ने अनुमति एसडीएफ सरकारले २०१७ मै केन्द्र सरकारबाट प्राप्त गरिसकेको जानकारी दिँदै चामलिङले कर्मापालाई रूम्तेक गुम्बामा आसिन गराउने काम सरकार बनेको 10 दिनमै गर्छौं भनेर एसकेएमले ढाँटेको र सिक्किमका बौद्ध धर्मावलम्बीहरूलाई धोका दिएको बताए। उनले भने, आगामी सरकारमा हामी सिक्किमका ४ हजार लामाहरूलाई सरकारी खर्चमा डोमिनिका पठाएर कर्मापाको दर्शन गराउनेछौं, र स्वयं लामाहरूले कर्मापालाई भेटेर सिक्किम आइदिने निमन्त्रणा गर्नेछन्।
चामलिङले जनजातिको मान्यता पाउनबाट छुटेका १२ जातिलाई जनजातिको रूपमा मान्यता दिलाउने प्रतिबद्धता व्यक्त गर्दै भने, आगामी सरकारमा हामी यो माग पूरा गरेरै छोड्नेछौं। यसरी नै लिम्बू-तामाङ जातिको सीट आरक्षणको मुद्दा अन्तिम चरणमा पुगेको थियो, तर एसकेएम रोक्यो भन्दै चामलिङले भने, हामी सरकारमा आएपछि यो मुद्दालाई समाधान गरी लिम्बू-तामाङ समुदायलाई सुरक्षा र न्याय दिनेछौं।
उनले 2026 को समष्टि पुनर्सीमाङ्कनले सिक्किमका सबै समुदायको निम्ति सीट आरक्षण गर्ने र सबैलाई न्याय र सुरक्षा दिने मौका दिनेछ भन्दै बीएल सीटलाई बीएल सीटकै रूपमा मान्यता कायम राखेर सीटको बृद्धि गर्ने बताए।
चामलिङले एलटी-को सीटलाई जनसंख्याको आधारमा सुरक्षा गर्ने र आरक्षण दिने बताए। उनले एससी-को सीटलाई जनसंख्याको आधारमा सुरक्षा र वृद्धि गर्ने बताए। उनले भने, छुटेका १२ समुदायको लागि जनजातिको मान्यता दिलाएर सीटको आरक्षण गर्नेछौं। यी सबै कामहरू गर्नाका निम्ति सिक्किममा सिक्किमेहरूको सरकार जरूरी छ। यस कुरोलाई बुझेर २०२४ मा सिक्किमेहरूको पक्का, सच्चा, इमान्दार र जन-जिम्मेवार सरकार बनाउनुपर्नेछ भन्दै एसडीएफ पार्टीलाई मतदान गर्न आग्रह गरे।
चामलिङले भने, हाम्रो एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको भविष्यको लागि काम गर्ने पार्टी हो। जनताको पक्षमा वकालत गर्न आज हामी उपस्थित भएका छौं। म जनताको अदालतमा छु। अब जनताले फैसला गर्नुपर्छ। चुनाउ औपचारिकता होइन होइन भन्दै उनले भने, चुनाउमा जनताको भाग्य र भविष्य कस्तो नेता र नेतृत्वको हातमा जिम्मा लगाउनु पर्ने त्यो जनताले निर्णय गर्नुपर्ने हुन्छ। यो चुनाउ मेरो सरकार चुन्ने चुनाउ होइन तर जनताको सरकार चुन्ने चुनाउ हो।
आजको जनसभालाई मार्ताम रुम्तेकका उम्मेदवार डा. मिचुङ भोटिया, लोकसभा उम्मेदवार पीडी राई लगायत अन्यहरूले पनि सम्बोधन गरेको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।











